धरानका मेयरलाई राजनीतिक दलले एक्लो बनाए : नगरसभा र कार्यपालिकामा एमाले निर्णायक

राजनिति समाचार

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएर हर्कराज राई (साम्पाङ) ले चमत्कारीक जीत हासिल गर्नुभयो ।

नेकपा (एमाले) को गढ मानिएको उक्त पालिकामा एमाले मात्र हैन । पाँच दलीय गठबन्धन समेत राईले भत्काउँनुभयो ।तर अहिले राई एक्लै पर्नुभएको छ । स्थानीय तहमा समेत अहिले संसदीय अभ्यास हुन्छ । जननिर्वाचितहरुबाटपनि कार्यपालिका गठनका लागि निर्वाचन हुन्छ ।

त्यस प्रक्रियाबाट बनेको कार्यपालिकाको बैठकबाट जे गर्नुपर्ने भएपनि बहुमतले निर्णय लिनुपर्ने हुन्छ । बहुमत जुट्न सकेन भने निक्कै सकस हुन्छ । धरान उपमहानगरपालिकामा १०२ जनप्रतिनिधि निर्वाचित हुनुभएको छ ।वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धरानवासीले आगामी पाँच वर्षका लागि १०२ जना जनप्रतिनिधि छान्नुभयो ।मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) २० हजार ८२१ मत ल्याए निर्वाचित हुँदा उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा विजयी हुनुभयो ।

गएको पाँच वर्ष धरानको नेतृत्व एमाले र काँग्रेसको हातमा थियो । ०७४ को निर्वाचनमा मेयर–उपमेयर र बहुमत वडा एमालेको कब्जामा थिए ।

तत्कालीन मेयर तारा सुब्बाको निधनपछि ०७६ मा भएको उपनिर्वाचनबाट धरानको नेतृत्व काँग्रेसको हातमा पुग्यो ।

उपनिर्वाचनमा काँग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर निर्वाचित हुनुभयो । त्यसअघिपनि एमालेले नै विजयी हासिल गर्दै आएको थियो । यसैले यसलाई एमालेको गढ मानिन्थ्यो ।

अहिलेपनि प्रमुख कार्यकारी पद (मेयर– उपमेयर) नभएपनि नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । मेयर र उपमेयर गुमाएको एमालेबाट १०२ सदस्यीय नगरसभामा १० वडाध्यक्ष र ४६ सदस्य गरी ५६ सदस्य छन् । नगरसभामा ४५ प्रतिशत एमालेको उपस्थिति छ । ७ वडाध्यक्ष र ३० जना वडा सदस्य रहेको काँग्रेसले नगर सभामा ३६ प्रतिशत प्रतिनिधित्व राख्छ ।

यस्तै माओवादीबाट उपमेयरसहित ५ प्रतिशत उपस्थिति छ भने राप्रपा र स्वतन्त्र गरी करिब २ प्रतिशत प्रतिनिधित्व छ । ३४ जना पदेन मध्ये कार्यपालिकामा एकल बहुमत कसैको छैन । तर नगरसभामा एकल बहुमत भएको एमाले थप सदस्य चयनमा पनि हाबी हुने छ ।

नगरभित्रका सबै वडाध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको नगरसभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि नगर कार्यपालिकाले पूर्णता पाउँछ । यो निर्वाचन नै हुन्छ । यसमापनि सबै एमाले विजयी हुने देखिन्छ । यसैले एमालेको एकल बहुमत छ ।

उपमहानरको एक प्रमुख, एक उपप्रमुख, २० वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा २७ सदस्य हुन्छ । नगरसभामा एमालेको बहुमत भएकोले थप कार्यपालिका सदस्य पनि एमालेकै हुने निश्चित छ । मेयर साम्पाङलाई एमालेको साथ विना काम गर्न कठिन छ ।

Leave a Reply

Your email address will not be published.