६९ जना यात्रु बोकेर भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फर्कियो !

समाचार

काठमाडौं । टायरमा समस्या देखिएपछि झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

६९ जना यात्रु सवार फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको बताइएको छ ।

यसैबीच सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने आन्तरिक उडानमा ढिलाइ भएको छ ।

सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा रोकिएको थियो ।

मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको यति एअरलाइन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.