अब प्लेन चढ्दा हरेकको दिमागमा आउनेछ मन्त्री आलेको नाम, दिनदिनै प्लेन दुर्घटना घटनाका खबर बाहिरिन थालेपछि गरिदिए बोल्ड निर्णय !

समाचार

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले मन्त्री भएपछि उनका अधिकांश निर्णय र काम चर्चामा रहदै आएका छन् । यसैबीच, पछिल्लो समय देशमा दिनदिनै भइरहेका प्लेन दुर्घटना र घटनापछि आले तातेका छन् । आलेको ठाडो निर्देशनमा प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा हुने पर्ने निर्णय भएको छ ।

मन्त्री आलेको ठाडो निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अब इनरुटको मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको हो । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।

‘उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको छ’ उनले भने । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ ।

पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताए ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । नेपालमा मौसमको पूर्वानुमान गर्ने आधिकारिक निकाले विभाग नै हो । त्यसो त हरेक वर्ष प्राधिकरणले कम्पनीहरुलाई मनसुन सर्कुलर समेत जारी गर्छ ।

यो वर्ष पनि एक साता अगाडि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुने कामबारे जानकारी गराएको थियो । प्राधिकरणको सर्कुलर अनुसार जहाजहरु कुनै पनि जोखिम मोलेर उडाउनु हुँदैन । यस्तै प्रेम आलेकै निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिवार्य गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.