कान्समा पहिलो पटक अवार्ड जितेको नेपाली फिल्म ‘लोरी’का निर्देशक शाहलाई प्रियंका चोपडाको बधाई

मनोरंजन

काठमाडौं । कान्समा पहिलो पटक अवार्ड जितेको नेपाली फिल्म ‘लोरी’का निर्देशक अविनाशविक्रम शाहलाई बलिउड अभिनेत्री प्रियंका चोपडाले बधाई दिएकी छिन् । उनको बधाईको सवत्र चर्चा चुलिएको छ ।

किनभने प्रियंका चोपडा कान्स फिल्म फेस्टिभलकी एक अभिन्न पात्र हुन् । हलिउड प्रोजेक्टमा व्यस्त भएकाले उनी यसपटक कान्समा सहभागी हुन सकिनन् ।

यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुशी बाँडेकी छन् । प्रियंकाले कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर खुबै खुशी भएको भाव व्यक्त गरेकी छन् ।

इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली फिल्म निर्देशक अविनाशविक्रम शाहसहितका एसियाली फिल्ममेकरलाई बधाई दिइन् । प्रियंकाले सेयर गरेको स्टोरीमा शाहको तस्वीर पनि छ ।

शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसपटकको कान्समा छोटो फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड जितेको थियो ।

उत्कृष्ट निर्देशकको अवार्ड जितेका दक्षिण कोरियाका पार्क चन वुक, अभिनेता सङकाङ हो, इरानी अभिनेत्री जार अमिर इब्राहामी र पटकथा लेखक तारिक सलेहको तस्वीर पनि सेयर गर्दै प्रियंकाले बधाई दिएकी छन् ।

प्रियंका लेख्छिन्, ‘कान्स २०२२ का सबै विजेतालाई बधाई छ । खासगरी एसियाका प्रतिभाशाली विजेताको जितलाई लिएर मनैदेखि बधाई दिन चाहन्छु ।’ केही साताअघि प्रियंकाले एसियाली ट्यालेन्टको लागि आफूले काम गर्ने समेत बताएकी थिइन् ।

प्रियंकाको कम्पनी पर्पल पेबल फिल्म्सले नेपाली भाषाको फिल्म ‘पाहुना : द लिटल भिजिटर्स’ पनि निर्माण गरेको छ ।

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । कान्समा नेपाली फिल्म ‘लोरी’ले ‘स्पेशल मेन्सन’ अवार्ड जितेको थियो ।

Leave a Reply

Your email address will not be published.