‘कबड्डी ४’ ले सबै नेपाली फिल्मका रेकर्ड तोड्यो, अभिनेत्री मगरको विवादले कति असर गर्यो ?

मनोरंजन

काठमाडौं । ‘कबड्डी ४’ले सबै नेपाली फिल्मका रेकर्ड तोडेको छ । ‘कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको हो ।

पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।

पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो ।

‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।

सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ । ‘कबड्डी ४’ ले यो रेकर्डपनि तोड्ने देखिन्छ ।

‘छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’को कुल ग्रस कमाइ ९ करोड रुपैयाँ छ ।

दोस्रो साता कमाइको स्थिर ट्रेन्ड कायमै रहे ‘कबड्डी ४’ले छक्कापञ्जा तीनको कीर्तिमानलाई तोड्न सक्नेछ ।

तर दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती हुनसक्छ । तर विश्लेषकहरु यो फिल्मको लाइफटाइम कलेक्सन ‘छक्कापञ्जा ३’भन्दा बढी हुने अनुमान गर्छन् ।

बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ । मोफसलका सिंगल स्क्रिनमा विकडेजमा अकुपेन्सी ड्रप भए पनि मल्टिप्लेक्स चाहिं अकुपेन्सी ह्वात्तै घटिसकेको छैन ।

अहिलेपनि हलहरुमा ८० प्रतिशत दर्शकहरु देखिन्छन् । कसैले दोहोर्याएर हेरेको फिल्ममा समेत यो पर्दछ । हलहरुमा गरिएको सर्वेक्षणमा एक पटक हेरेर फेरी हेर्न गएका दर्शकहरुपनि छन् ।

अभिनेत्री मिरुना मगरको विवादका कारण केही असर परेको आँकलन भने गरिन्छ । नत्र यो फिल्मले चाँडै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाउँने थियो ।

फिल्म हेर्न आएका दर्शकले ‘नियतवस छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी ‘कबड्डी ४ः द फाइनल म्याच’ फिल्मकी अभिनेत्री मिरुना मगरविरुद्ध चाबहिलको केएल टावरअघि नाराबाजी भएको थियो ।

त्यहाँको शोहरु केही समय बन्द समेत भएका थिए । देशभरपनि उनको फिल्म नहेर्ने स्टाटस् सामाजिक सञ्जालमा पोष्ट भएका थिए । यसले फिल्मलाई असर गरेको निमार्ण पक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published.