स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहदैनः मेयर बालेन शाह

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै नरहेको बताएका छन् ।बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ ।

राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।’

उनले लेखेका छन्, ‘काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ ।

समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ । यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँ । आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।’

Leave a Reply

Your email address will not be published.