जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई जिम्मा लगाइने

समाचार

काठमाडौं । तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ ।

गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना भएको थियो ।

दुर्घटनामा विमानमा सवार २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए। यार्सागुम्बा संकलकले पहिलो पटक विमान दुर्घटना भएको स्थान पत्ता लगाएका थिए ।

Leave a Reply

Your email address will not be published.