म साढे ३ लाखको जागिर छोडेर जनताको सेवा गर्न आएका हुँ, म आको ४ दिनभयो, मलाई काम गर्न दिनुस् : मेयर साह (भिडियो)

राजनिति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफू भर्खरै जिम्मेवारीमा आएकाले फोहोर व्यवस्थापनका लागि केही दिन सोच्न, योजना बनाउन र आवश्यक काम अगाडि बढाउन दिन सिसडोलका स्थानीयसँग अनुरोध गरेका छन्।

आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन्। ‘म आफ्नो साढे ३ लाखको जागिर छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’ उनले भने, ‘मलाई काम गर्न दिनुस्।’

आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा स्थानीयको गुनासो सुनिसकेपछि उनले दुर्गन्ध हटाउने उपायबारे आफूले विज्ञहरूसँग आवश्यक छलफलसमेत गरेको बताए। ‘केमिकल हालेको एक साताभित्र दुर्गन्ध आउनेछैन,’ उनले भने, ‘त्यसका लागि स्थानीयले केही सहयोग गर्नुपर्ने हुन्छ।’

फोहोरको दुर्गन्ध हटाएपछि तीन महिनाभित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरी सिसडोलको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत मेयर साहले व्यक्त गरे। ‘हामीले बन्चरे डाँडाको पनि सबै रिपोर्ट अध्ययन ग¥यौं,’ उनले भने, ‘तीन महिनाभित्र फोहोर व्यवस्थापनको कार्य पनि बढ्छ।’ फोहोर व्यवस्थापनका लागि घरघरबाटै सहयोग हुनुपर्नेमा उनले जोड दिए।

उनले सड्ने र नसड्ने फोहोर छुट्याउन काठमाडौं महानगरपालिकाले घरघरमा पुगेर जनचेतना फैलाउने अभियान थाल्ने जानकारी पनि दिए। उनले महानगरवासीलाई इंगित गरेर एकछिन फोहोर केलाउन कसैले अल्छी गर्न नहुने धारणा व्यक्त गरे। ‘तपाईंहरूले पाँच मिनेट फोहोर छु्ट्याउन अल्छी गर्दा कतैकतै मानिस मरिरहेका छन्,’ उनले भने, ‘महानगरवासीले यो कुरालाई गम्भीर रूपमा लिने विश्वास लिएको छु।’

उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न सिसडोलका स्थानीयसँग आग्रह गरे। स्थानीयका समस्या सबै समाधान गरिने तर फोहोर विसर्जनमा अवरोध गर्न नहुने उनको भनाइ थियो।

सरोकारवालाले भने मेयर साहले फेहोरको प्रभावकारी व्यवस्थापनसम्बन्धी स्पष्ट खाका अझै नल्याएको बताए। समस्या समाधान कसरी गर्ने भन्नेमा मेयर आफैं स्पष्ट नभएको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए। ‘मेयरबाट स्थलगत अवलोकन र निरीक्षण त भयो,’ तामाङले भने, ‘तर उहाँले समस्या समाधानबारे कुनै स्पष्ट निर्णय र खाका दिनुभएको छैन।’ सिसडोल र बन्चरेडाँडा ककनी गाउँपालिकाअन्तर्गत पर्छ।

https://video.fktm1-2.fna.fbcdn.net/v/t42.1790-2/284934528_2367920416683231_685471094226867004_n.mp4?_nc_cat=111&ccb=1-7&_nc_sid=985c63&efg=eyJybHIiOjU0NywicmxhIjo1NTQsInZlbmNvZGVfdGFnIjoic3ZlX3NkIn0%3D&_nc_ohc=fl2FdV8JQlEAX8Hrkx2&rl=547&vabr=304&_nc_ht=video.fktm1-2.fna&edm=AGo2L-IEAAAA&oh=00_AT_GpqLmS2_2pis4yu6-KH4jivSp8WBpfl8BiPhKm4OLxw&oe=629B267A

Leave a Reply

Your email address will not be published.