बाबुराम भट्टराई र कमल थापाको कुरो मिल्यो

राजनिति

काठमाडौं – फरक फरक राजनीतिक लाइनका दुई चर्चित केन्द्रीय नेता डा. बाबुराम भट्टराई र कमल थापाको कुरा मिलेको छ । एकअर्काको कडा र निर्मम आलोचना र घोचपेच गर्ने यी नेताको एउटा गहन र गम्भीर बिषयमा भने ठ्याक्कै कुरा मिलेको हो । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन्।

चुनावी समीक्षा गर्न शनिबार जिल्ला आएका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कमजोरी भए पनि अर्को कारण गठबन्धन नै भएको बताए।

‘विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो,’ उनले भने, ‘जुन ढंगले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन।’ डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए।

गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको उनले आरोप लगाए। नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको उनको भनाइ थियो।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भने, ‘त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हुँदा गठबन्धन गर्र्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ।’

उनले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनःविचार गर्नुपर्ने बेला आएको बताए। ‘वैचारिकरुपमा सापेक्ष ढङ्गले एकरुपमा भएका वा निकट भएका शक्ति बीचमा गठबन्धन तालमेल भयो भने दिगो हुन्छ, नीति कार्यक्रम लागू गर्न पनि सहज हुन्छ,’ अध्यक्ष डा भट्टराईले भने, ‘जुन शक्तिका बीचमा आधारभूत नीति नै मिल्दैन, आर्थिक नीति, विदेश नीति, देशको लोकतान्त्रिक ढाँचासम्बन्धी नीति नै मिल्दैन त्यस्ता शक्ति एकै ठाउँमा बस्यो भने त्यसले क्षणिक चुनावी लाभ हुन्छ, सरकार बन्छ तर त्यसले काम गर्न सक्दैन।’

जसपा कम्युनिस्ट शक्ति नभएको भन्दै उनले लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने शक्ति भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए। ‘लोकतान्त्रिक शक्ति जसले अग्रगामी प्रगतिशील सोच राख्दछन्, त्यस्ता शक्ति बीचको गठबन्धन दिगो हुन्छ भन्ने हाम्रो बुझाइ हो,’ डा भट्टराईले भने। यस्तै यता राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रिरयामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।

विभिन्न क्षेत्र, वर्ग, समुदायका व्यक्तिसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए । पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको उनले बताए ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् संकटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गरेका थिए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वादभन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिए । यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले आज विराटनगरमा उद्घाटन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.