माधव नेपालले किकआउट गरेपछि प्रेम आले उत्रिए एक्सनमा

राजनिति

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा एक्सनमा उत्रिएका छन् । आले र खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका हुन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

यस्तै यता नेकपा एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलले जानकारी दिए ।

उनका अनुसार मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​

Leave a Reply

Your email address will not be published.