असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

समाचार

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।

‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले भने ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि आयोगले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको जानकारी दिए ।

यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ ।

आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ । त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।

यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सो’boutमा भने कसरी जाने निर्णय गरिसकेको छैन ।

आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नामावली दर्ता खुला गर्ने भएको हो । आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ ।

आयोगले सरकारबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मिति तोकिएपछि भने नामावलीमा नाम दर्ता गर्नेछैन । कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारबाट मिति तोकिए सम्भवतः तीनदेखि चार सातासम्म नामावली दर्ता खुला रहन सक्छ ।

नामावली दर्ता रोकिएपछि आयोगले नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गर्नेछ । आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।

-याे खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.