९ जनाको ज्या<न गएको रूपन्देही बस दु<र्घटना : कसरी खस्यो बस पुल बाट घटना बारे यसो भन्छन् चालक

समाचार

भैरहवा‚ लुम्बिनी — रूपन्देहीको ओमसतिया–५ मटेरियाका ७० वर्षीय राजेन्द्र पाण्डे ५ मिनेटको सवारी दूरी र ५ मिनेटको पैदल यात्रा पार गरेपछि घर पुग्थे । उनी सवार लु२ख ३८४१ नम्बरको बस तीव्र गतिमा हुइँकिरहेकै थियो । ५ मिनेटपछि रोहिणी गाउँपालिकाको वसन्तपुर चोकमा बस रोकिन्थ्यो । पाण्डे बसबाट झर्थे र थप ५ मिनेट पैदल हिँडेर घर पुग्थे । तर, दुर्भाग्य ! उनले त्यो अवसर आइतबार बिहान सदाका लागि गुमाए ।

पाण्डे झर्न रोकिनुपर्ने वसन्तपुर चोक आउनु झन्डै ५ मिनेटअघि नै बसले परासी–भैरहवा सडक छोड्यो । रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानामा पर्ने रोहिणी खोलाको पुलमा बनेको फलामे रेलिङ भाँच्दै खोलामा खस्यो ।

बिहान साढे ४ बजेतिर खोलामा बस खस्दा ९ जनाको मृत्यु भयो । मृत्यु हुनेमध्येका पाण्डे एक हुन् । १५ दिनअघि अध्ययनका लागि काठमाडौंमा रहेकी ठूलो छोराकी छोरी (नातिनी) भेट्न उनी काठमाडौं गएका थिए । नातिनीलाई भेटेर उनी शुक्रबार डाक्टर पढिरहेका नाति भेट्न जनकपुर पुगेका थिए । नातिलाई भेटेपछि जनकपुरबाटै भैरहवा आउने बस चढेका उनले दुर्घटनामा परेर ज्यान गुमाए । ठूला छोरा सञ्जयलाई उनले मोबाइलमा बेलाबेला आफू आइपुगेको स्थानको जानकारी दिँदै आएका थिए । घर पुग्नु केही बेरअघि दुर्घटना भयो । घटनापछि मृतक तथा घाइतेलाई अस्पताल पुर्‍याइएको थियो । भैरहवाको भीम अस्पतालबाट पाण्डेका आफन्तलाई फोन गयो । ‘पहिचानका लागि आउनुपर्‍यो, तपाईंको आफन्त हुन सक्छन् भन्ने फोन आएपछि म अस्पताल पुगिहालें,’ मृतक पाण्डेका दाजुका छोरा श्रवणले भने, ‘अस्पताल पुग्दा काकाको मृत्यु भइसकेको रहेछ ।’ दिवंगत पाण्डे गाउँका परिचित सामाजिक व्यक्तित्व थिए । उनका दुई छोरा र एक छोरी छन् । पाण्डेको मृत्युपछि गाउँ नै शोकमग्न छ ।

बसमा नारायणगढदेखि चढेका बुटवल–११ का कृष्ण बस्यालले पनि ज्यान गुमाए । हार्डवेयर व्यवसायी बस्याल तीन दिनअघि प्लेनमा काठमाडौं गएका थिए । तर, फर्किने बेलामा भाउजूलाई पनि सँगै ल्याउनुपरेकाले बस चढेर आएका थिए । नारायणगढ आउँदा काठमाडौंबाट आएको बस बिग्रियो । त्यसपछि दुवै जना जनकपुरबाट आएको बस चढेका थिए । दुर्घटनामा देवर–भाउजू दुवैको मृत्यु भएको छ । बस्यालको घरमा आफ्नै पनि सवारीसाधन थियो । उनकी भाउजू ३७ वर्षीया तुलसी बस्याल उच्च शिक्षा अध्ययनका लागि छोरीलाई अस्ट्रेलिया पठाउने भन्दै कागजात बनाउन काठमाडौं गएकी थिइन् । चार दिनअघि छोरीसँगै गएकी तुलसी शनिबार साँझ काठमाडौंबाट फर्कंदै थिइन । शनिबार दिउँसो परिवारसँग कुरा हुँदा छोरीको अस्ट्रेलिया जाने प्रक्रिया पूरा भएपछि मात्रै घर आउन उनलाई परिवारले सुझाएका थिए । तर, केही दिन ढिलो हुने भएपछि उनी छोरीलाई काठमाडौं छाडेर शनिबार साँझ नै घर आउन बस चढेकी थिइन् ।

बसमा सवार ३२ यात्रुमध्ये अधिकांश निदाएका थिए । उनीहरूको निद्रासँगै बस पुल भत्काउँदै खोलामा खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका अनुसार जनकपुरबाट २० जना यात्रु लिएर भैरहवाका लागि हिँडेको बसमा हेटौंडा र नारायणगढबाट यात्रु थपिएका थिए । नारायणगढमा काठमाडौंबाट आएको अर्को एउटा बसले आफ्नो बसमा रहेका भैरहवा आउने यात्रुलाई उक्त बसमा सिफ्ट गराएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशव केसीले दुर्घटनाको कारण यकिन भइनसकेको बताए । ‘तीव्र गति र चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘थप घाइते यात्रुसँग बुझ्दै छौं ।’ बस पुलको विपरीत दिशातर्फ गएर खोलामा खसेकाले चालक निदाएको आशंका भएको उनले बताए । बसचालक तिलोत्तमा–३ का ३६ वर्षीय सुमन अर्यालले बस पुलमा आएपछि विपरीत दिशाबाट सानो गाडी (ट्याक्सी) ले लाइट डिम नगरेको र ट्याक्सीलाई बचाउन स्टेरिङ घुमाउने क्रममा अनियन्त्रित भएर पुलबाट खसेको बताए ।

दुर्घटनामा मृत्यु हुनेमा रूपन्देहीको ओमसतिया–४ का ७० वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२ योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल–११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहटको चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, बुटवल–६ टाइटन टोलका ४० वर्षीय अरविन्द शर्मा, ६० वर्षीय नन्देश्वर शर्मा र भारत सीतामढीका ४५ वर्षीय सञ्जय गुप्ता छन् । एक जना पुरुषको सनाखत हुन बाँकी छ ।

मृतकमध्ये नन्देश्वर र अरविन्द बाबुछोरा हुन् । पारिवारिक विवाह कार्यक्रममा जनकपुर गएका नन्देश्वरको एउटै घरपरिवारका पाँच जना दुर्घटनामा परेका छन् । जसमध्ये बाबुछोराको मृत्यु भएको छ भने अरविन्दकी श्रीमती ३२ वर्षीया सीता, ५ वर्षीया छोरी सन्दीपा र ४ वर्षीय छोरा यश शर्माको युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सनाखत भएकामध्ये कृष्णप्रसाद बस्याल, तुलसी बस्याल, राजेन्द्र पाण्डे र विष्णु पौडेलको भीम अस्पताल भैरहवामा पोस्टमार्टमपछि आफन्तले शव बुझेर लगेको प्रहरी इकाइका प्रमुख सुशील कँडेलले बताए । दुर्घटनापछि उपचारार्थ ल्याइँदा भीम अस्पतालमा ४ र युनिभर्सल शिक्षण अस्पतालमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस पुलबाट झन्डै २५ फिट तल खसेको छ ।

-कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.