छडको भाउ आधा घट्यो, अब नयाँ घर बनाउनेलाई फाईदा

आर्थिक समाचार

भारतमा छडको भाउ आधा घटेको छ । जसबाट नयाँ घर बनाउनेलाई फाइदा हुने भएको छ । सरकारको प्रयासले छडको भाउ घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा केही महिनाअघिसम्म छडको भाउ प्रतिटन ८५ हजार भारु थियो भने अहिले घटेर ४५ हजार प्रतिटन पुगेको छ ।

भारतमा ब्रान्डेड छडको दर समेत घटेको छ । भारत सरकारले महंगी कम गर्न पेट्रोलियम पदार्थको मूल्य समेत घटाएको छ । सरकारले स्टीलको मूल्य नियन्त्रित गर्न निर्यात कर बढाएको छ ।

त्यस्तै, सरकारले बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि उद्योगी उत्साहित भएका छन्। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ।

८ प्रतिशत नगद प्रोत्साहन र वार्षिक १० करोडभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई विद्युत्मा २ देखि १५ प्रतिशतसम्मको छुट दिने व्यवस्था गरेको छ। सरकारको कार्यक्रमले सिमेन्ट निर्यातको बाटो खुलेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ। ‘बजेटमार्फत नगद प्रोत्साहन गर्ने नीतिले उत्साह थपिएको छ’, संघका अध्यक्ष धु्रब थापाले भने- ‘सरकारले छिटो कार्यविधि तयार गरेर निर्यातको वातावरण बनाउने अपेक्षा गरेका छौं।’

उद्योगीले १० प्रतिशत प्रोत्साहन अनुदान माग गरेको भए पनि ८ प्रतिशत मात्र पाएको थापाले बताए। संघका अनुसार अहिले उद्योगको करिब साढे २ करोड मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ। ‘स्वदेशी बजारमा एक करोड टन सिमेन्ट खपत हुन्छ’, अध्यक्ष थापाले भने– ‘डेढ करोड टन निर्यात गर्न सक्ने क्षमता छ।’ थापाका अनुसार करिब डेढ खर्ब रूपैयाँको सिमेन्ट निर्यात गर्न सक्ने उद्योगीको क्षमता रहेको छ।

सिमेन्ट उद्योगमा करिब तीन खर्ब रूपैयाँ लगानी पुगेको उद्योगी बताउँछन्। यहाँको उत्पादन बजार खपत भएर मात्र नसकिने भए पछि सरकारले आर्थिक वर्ष ०७६/७७ देखि बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रूपमा राखेको भए पनि पहिलो पटक आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा व्यवस्था गरेको हो। सरकारले कार्यविधि बनाएपछि भारततर्फ सिमेन्ट निर्यातको बाटो खुल्ने अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए।

‘सरकारले लिएको नीति सकारात्मक छ’, मुरारकाले भने-‘कार्यविधिले प्रष्ट पार्ला भन्ने अपेक्षा छ।’ नेपालको सीमा जोडिएको भारतको उत्तरप्रदेशको जनसंख्या २२/२३ करोड रहेकाले त्यहाँ सिमेन्टका लागि ठूलो बजार रहेको उनले बताए। ‘बोर्डरबाट भारतको एक सय किलोमिटरसम्म सिमेन्टको बजार हुनसक्छ’, मुरारकाले भने– ‘नेपालका लागि सिमेन्ट निर्यात गर्न भारतका युपी, बिहार राम्रो बजारको अवसर छ।’ बजेटमा व्यवस्था गरे पनि केही नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको उद्योगीको भनाइ छ।

Leave a Reply

Your email address will not be published.