इम्बोस्ड नम्बर प्लेट : विभागको गल्ती, नागरिकलाई सास्ती

समाचार

यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो।

विभागले यी सबै कामका लागि प्राविधिक समस्या देखाउने गरेको छ। पूर्वाधार र प्रविधि तयार नहुँदै र भएको प्रविधिको पनि पूर्ण क्षमतामा प्रयोग नगर्दा यातायात व्यवस्थामा अव्यवस्था नै बढी हुँदै आएको छ। यातायात व्यवस्थाको यस्तै अव्यवस्थामा कुँदिएको (इम्बोस्ड) प्लेट पनि पर्छ। विभागले सम्पूर्ण पूर्वाधार तयारै नगरी पाँच वर्षअघि वितरण सुरु गरेको थियो ।

त्यो पनि पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । विभागले सवारीसाधनको उच्च सुरक्षासहितको डिजिटल प्रणाली भन्दै २०७४ भदौ ५ देखि इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो। तर पूर्वाधार र तयारीबिना सुरु गरिएका कारण इम्बोस्ड नम्बर प्लेट अहिलेसम्म सर्वस्वीकार्य नै हुन सकेको छैन।

यसैबीच विभागले ०७८ जेठ २० गते सूचना प्रकाशित गरी बागमती प्रदेशअन्तर्गत एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरामा दर्ता रहेका सम्पूर्ण सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड बनाइसक्नुपर्ने अन्यथा कानुनी कारबाही हुने सूचना प्रकाशित गरेको छ।

तथापि नम्बर प्लेटको भाषा र लिपि, नम्बर प्लेट राख्न तिर्नुपर्ने रकम र छोटो समय दिएर परिवर्तन गर्नुपर्ने नभए कारबाही हुने भनी प्रयोग गरिएको भाषाको तीव्र आलोचना भएको छ। सर्वसाधारणमात्र होइन कानुनी कारबाहीको भाषा प्रयोगबारे कानुन निर्माण गर्ने सङ्घीय सांसदहरूले समेत विरोध गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले इम्बोस्ड नम्बर प्लेट राख्ने सूचनाप्रति प्रश्न उठाए।नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दण्ड जरिवाना गर्छौं भन्ने सूचना निकालेर नागरिकलाई त्रास र सास्ती नदिन आग्रह गरे।

‘सरकारले भनेको काम समयमै नगर्दा त्यसको सास्ती नागरिकले पाउनुपर्ने ?’

निर्णय किन कार्यान्वयन हुन सकेन भन्ने समीक्षा गर्न, सूचना निकालेर दण्ड जरिवानाको त्रास देखाउने काम बन्द गर्न र प्राविधिक रूपमा असम्भव निर्णय पुनरवलोकन गर्न उनले आग्रह गरे। तर विभागले भने सबै संरचना तयार गरिएको हुँदा आगामी १६ महिनामा २५ लाख नम्बर प्लेट वितरण गर्न सकिने दाबी गर्न छाडेको छैन।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘उत्पादनमा समस्या छैन, संरचना तयार छन्। नागरिकले एक दिनमै नम्बर प्लेट पाउन सक्छन्, बिनातयारी गरिएको छैन।’ उनका अनुसार अनलाइन फाराम भरी प्रिन्ट लिएर गएपछि एकै दिनमा काम सम्पन्न हुन्छ। तर विभागको अनलाइन प्रणालीले काम गर्दैन भन्ने उदाहरण चालक अनुमतिपत्र नै पर्याप्त रहेको छ।

इम्बोस्ड नम्बर प्लेट सवारीसाधनको उच्च सुरक्षासहितको डिजिटल प्रणाली हो। जसमा सवारीसाधन र सवारीधनीको विवरण राखिएको हुन्छ। अनलाइनमार्फत एकैठाउँबाट सवारीसाधनको अवस्था पहिचान र जानकारी लिन सकिन्छ । नम्बर प्लेटमा राखिएको डिजिटल चिप्स मेसिनमार्फत विवरण हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published.