मनको फोहोर फालौँ ,भाइरलवाला दिमागले मात्रै काठमाडौं बन्दैन: वडाध्यक्ष मुकुन्द रिजाल

राजनिति समाचार

कास्की मिडिया :स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मेयरमा जित हासिल गर्दैगर्दा देशभरको चासो काठमाडौं महानगरपालिकातर्फ थियो। शाहले निर्वाचित भएर सपथ लिनासाथ पहिलो निर्णय नै कार्यपालिका बैठक लाइभ गर्ने गरे। बालेन्द्रको यो निर्णयले देशभर थप चर्चा पायो। पहिलो कार्यपालिका बैठकपछि अर्का पात्र पनि चर्चामा आए। उनी हुन्– वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल।

कार्यपालिका बैठकमा विधि र प्रक्रिया मिचिएको भन्दै रिजालले लाइभ बैठकमा प्रमुख प्रशासकीय अधिकृतको आलोचना गरेपछि उनी सामाजिक सञ्जालमा एकाएक छाउन थालेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रिजाल अहिले टिकटकमा समेत छाएका छन्।

वडाध्यक्ष रिजालले सो बैठकमा मेयर बालेन्द्रप्रति आपत्ति जनाएका थिएनन्, उनको आपत्ति प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालमाथि केन्द्रित थियो। तर, रिजालले बालेन्द्रमाथि नै प्रश्न उठाएको अर्थमा सो घटनाबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। कतिपयले त रिजाललाई गाली गर्दै ‘रिप’ सम्म लेख्न भ्याएका छन्।

काठमाडौं महानगरपालिकामा वडाध्यक्ष रिजालको यो दोस्रो कार्यकाल हो। विद्यासुन्दर शाक्यका पालामा पनि वडाध्यक्ष बनेका उनी महानगरपालिकाका अनुभवी जनप्रतिनिधि हुन्। स्थानीय तहको बैठक सञ्चालनको विधि र प्रक्रियाबारे उनी जानकार व्यक्ति हुन्। नेपालखबरसँगको अन्तरवार्ताका क्रममा उनले कांग्रेसका वडाध्यक्षहरुले एमालेका विद्यासुन्दर शाक्यसँग पनि मिलेर काम गरेको हुनाले अहिले बालेन्द्रसँग काम गर्न अप्ठ्यारो नरहेको संकेत गरे।

सामाजिक सञ्जालमा आफ्नो विरोध गर्नेहरुप्रति आक्रोश पोख्दै उनले विदेशमा बसेर गाली गर्ने भाइरलवाला दिमागले देश नबन्ने प्रतिक्रिया दिए। आफूलाई ‘रिप’ लेख्नेहरुलाई वडा नम्बर १६ को पार्कमा रुखमुनि आएर शीतल ताप्न उनले निम्तोसमेत दिए। कार्यालयमा टिकटक बनाएको विषयमा पनि उनले स्ष्टीकरण दिँदै भने, ‘मुकुन्द रिजालले ४ वर्षअघि बनाएको टिकटक हो त्यो। उहाँहरुलाई म सलाम पनि गर्छु। खोजेर हेरिदिनुभयो। आफ्नो मनमा लागेको आवेगहरु पोख्न पाउनुभयो।’

प्रस्तुत छ, काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका समस्या लगायतका विषयमा नेपालखबरले वडाध्यक्ष रिजालसँग गरेको कुराकानी :तपाईं काठमाडौं महानगरपालिकाको अनुभवी वडाध्यक्ष हुनुहुन्छ।

खासमा यहाँले देख्नुभएका र समाधान हुनुपर्ने समस्या के–के हुन्? काठमाडौंमा ठूला समस्या छैनन्। हामी जनप्रतिनिधिहरु ठूला भन्दा पनि साना समस्या समाधान गर्नका लागि आएका हौं। ठूला समस्याको समाधान प्रदेश र केन्द्र सरकारले गर्ने हो। हामी स्थानीय सरकारले स्थानीय तहमा रहनुभएका दाजुभाइ दिदीबहिनीका समस्या समाधान गर्न आएका हौं। सिंहदरबारको अधिकार घर–घरमा भनिएजस्तै घरपरिवारको सरकार हामी हौं।

यहाँको पहिलो समस्या भनेको बा–आमाले हिँड्ने पेटी हो।दोस्रो समस्या भनेको पोल–पोलमा यत्रतत्र छरिएको तार हो। मानिसहरु महिला बलात्कारका कुरा गर्छन्, तर यहाँ पोल बलात्कृत भएको छ। किनभने, विद्युत प्राधिकरणको पोलमा दूरसञ्चारले तार हालेको छ, दूरसञ्चारको पोलमा प्राधिकरणले तार हालेको छ।

स्थानीय सरकारलाई नटेरी इन्टरनेटका तारहरु हालिएका छन्। स्थानीय सरकारलाई नमानी यहाँका नेट कम्पनीले तार हालिरहेका छन्। पोलमाथि बलात्कार भयो भन्ने मलाई लाग्छ। पोलमा तार ल्याएर हाल्दा स्थानीय सरकारलाई जानकारी हुँदैन।तेस्रो, ट्राफिक जाम। फुटपाथका पसलहरूलाई हटाउनुपर्ने अवस्था आएको छ।

हाम्रा यहाँका बच्चाहरुलाई १ देखि १२ सम्म निशुल्क पढाउने भनेर संविधानमा उल्लेख छ। तर, संविधानमा उल्लेख भएका विषयहरु हामीले कार्यान्वयन गर्न सकेका छैनौं। यसो भन्दै गर्दा, हामीले बाटोमा रहेका पोल र फोहोरलाई सफा गरेर मात्र हुँदैन।

मुख्यतः मानिसमा रहेका दिमागको फोहोर सफा नगरी बाटाको फोहोर सफा हुँदैन। काठमाडौं भनेको विश्वको आँखा परेको शहर हो। अन्तर्राष्ट्रिय रुपमा बुद्ध र सगरमाथाको देशले चिनिएको ठाउँमा आज तारैतार र फोहोरको डंगुर भएको देशका रुपमा परिचित भयो भने हामीकहाँ कतिको पर्यटक आउँछन्?

योभन्दा पहिला हामीले धेरै योजना बनाएका थियौं, हामी कोभिडका कारणले काम गर्न सकिएन। राम्रा कामहरु हुँदा पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको छ। हामी जनप्रतिनिधिले भनेको जति काम गर्न नसकेको अवश्य नै हो। यहाँका जनताका साना समस्या छन्।

यहाँका बा–आमाहरुलाई किन घरमै मात्र बसिरहनुभएको? भनेर सोध्ने गरेको छु। उहाँहरुले घरमा पानी खायो, सुगर रोग छ, तर चोकमा गएपछि फाल्ने (पिसाब फेर्ने) ठाउँ छैन, त्यसकारण किन बाहिर निस्कनु भनेर घरमै बसेको भन्नुहुन्छ। त्यसलाई निराकरण गर्नपर्छ।

हिँड्न पाउने, शौचालय प्रयोग गर्न पाउने, ध्वनि प्रदूषण रोक्ने, ट्राफिक जाम न्यूनीकरण गर्ने लगायतका कामहरु गर्नुपर्ने छ।काठमाडौंको फोहोरचाहिँ मुख्य समस्या हो ?यहाँको फोहोरलाई समस्या बनाइएको छ। तर, यो समस्या नै होइन। काठमाडौंको फोहोर बाहिर लानै पर्दैन।

काठमाडौंभित्र नै यसको ब्यवस्थापन गर्नुपर्छ। काठमाडौंको फोहोर ब्यवस्थापन गर्न सकिँदैन भने भक्तपुर र ललितपुरको फोहोरको जिम्मा किन लिन्छौं? आफ्नो फोहोर ब्यवस्थापन गरिसकेपछि मात्र अरुको बोझ बोक्नुपर्छ जस्तो मलाई लाग्छ।

यहाँले ‘मानसिक फोहोर’को कुरा गर्नुभयो। कस्तोखालको मानसिक फोहोर बाँकी भएको हो र भौतिक फोहोर उठ्न नसकेको हो?मानसिक फोहोर भनेको मनस्थितिबाट नै मैले कहाँ फोहोर फाल्न हुन्छ वा हुँदैन भनेर विवेक प्रयोग गर्ने कुरा हो। मानिसलाई विवेकशील प्राणी बनाउन सक्नुपर्यो। हामीले फोहोर फाल्दा मेरो टोल गन्हाउँछ कि गन्हाउँदैन, भोलि नयाँ मान्छे आउँदा त्यसको समस्या के हुने, भन्ने कुराको मानसिक रुपमा तयार पार्नुपर्छ।

फोहोरलाई कुहिने, नकुहिने, फलाम, सिसा, कागज र कपडालाई बेग्लाबेग्लै ब्यवस्थापन हुनुपर्छ। ती फोहोरहरु मोहोरका रुपमा व्यवस्थापन गर्नुपर्छ।कुहिने फोहोरहरुलाई मलको रुपमा प्रयोग गर्न सकिन्छ। ती कुराहरुलाई हामीले मानसिकरुपमा पढाउन सकेनौं। मानस्पटलबाट फोहोर झिक्न नसकेका कारणले समस्या भएको हो।

वर्षौंदेखि ‘मानसिक फोहोर’ किन फाल्न नसकिएको होला?हामीले मानिसमा जागरण ल्याउन सकेनौं। अर्को, हामीले महानगरका ऐन कानुनलाई कार्यान्वयनमा ल्याउन सकेनौं। फोहोर जथाभावी फाल्नेलाई कानुन छ, त्यसको कार्यान्वयन हुनुपर्यो। महानगरपालिकाको स्रोतले नपुग्दा नेपाल प्रहरीसँग सहारा लिएर कडा कारबाहीको ब्यवस्था हुनुपर्छ। जसले अव्यवस्थित रुपमा फोहोर फाल्छ, तीनलाई कारबाही हुनुपर्छ।

अलिकति फरक प्रसंग, तपाईंको अनुभवमा स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा कानुनको कतिको जानकार भएर आउँनुहुँदो रहेछ?आइए पास गर्दा असईको जागिर पाइन्छ क्यारे! बीए पास गरे सेक्सन अफिसरको जागिर पाइन्छ क्यारे!महानगरपालिकामा आउँदा पार्टीगत स्कुलिङमा आउने हुन्छ।

पार्टीबाट आउँदा कानुनी कुराहरु बुझेको हुनुपर्छ। अहिलेका जनप्रतिनिधिहरु झाँक्रीजस्ता हुनुपर्छ। डाक्टर, इन्जिनियर, पाइलट सबै हुनुपर्छ। हामीलाई महानगरले कन्स्ट्रक्सनका लागि इन्जिनियर दिएको छ। कानुनका लागि न्यायिक समिति दिएको छ। महानगरपालिका र वडा भनेको एउटै हो। वडाले सिफारिस गर्छ, महानगरपालिकाले कार्यान्वयन गर्छ। कार्यान्वयन नै वडाबाट गर्ने होइन। हामीले गरेको सिफारिस अनुसार नीति बन्छ र नीतिको आधारमा कामकाज चल्छ।

तपाईंले भनेजस्तै अध्ययन नगरी आएका जनप्रतिनिधि एकातिर र अनुभव भएका जनप्रतिनिधिहरु अर्कोतिर हुँदा काममा तालमेल मिल्छ?हामी तेल र पानी होइनौं नि। सबै मानव हौं। बसेर छलफल गरेपछि नमिल्ने भन्ने नै हुँदैन। सबैकुरा मैले जानेको छु भनेजसरी हिँड्न हुँदैन। हिजो मैले फोहोर उठाउन सुरु गरेँ, तर गर्नुभन्दा अघि अन्य दलका साथीहरुसँग पनि परामर्श गरेँ। उहाँहरुले फोहोर उठाउने भने हाम्रो समर्थन छ भन्नुभयो र माइन्युट भयो। काम पनि सुरु भयो।सहमति, सहकार्य र एकता आजको आवश्यकता हो। अहिले आएका जनप्रतिनिधिहरु पार्टी भन्दा पनि महानगरपालिकाको समस्याबारे बुझेर अघि हिँड्नुपर्छ।

अधिकांशले त महानगरमा कर्मचारीका कारण काम गर्न समस्या भयो भनेर सुनाउँछन् त?कर्मचारी सहयोगी छन्। मसँग त किन हो असाध्यै राम्रो सम्बन्ध छ। महानगरपालिकाका सबै विभागका कर्मचारीसँग राम्रो सम्बन्ध छ। हामीले भनेका कुराहरु सबै गर्नुहुन्छ। महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरुलाई पनि धन्यवाद दिन चाहन्छु। हामी जनप्रतिनिधिहरुलाई उहाँहरुले साथ र सहयोग दिइरहनुभएको छ।

हामी जनताको सेवा गर्न आउने भनेकाहरु चाँहि भत्ता र तलब लिन्छौं। तर, उहाँहरुले ओभरटाइम काम गर्दा भत्ता चाहिँदैन? उहाँहरु त कर्म गर्न आएको हो। तर, हामी जनप्रतिनिधिहरु पारिश्रमिक लिन आएका होइनौं। हामी सोखले राजनीतिमा आएका हौं।

काठमाडौं महानगरमा मासिक ४०/५० लाख जनप्रतिनिधिका लागि तलब भत्तामा जान्छ। त्यो भनेको वर्षमा ६ करोड हुन्छ। त्यही रकम पाँच वर्षमा ३० करोडभन्दा बढी हुन्छ। त्यो रकमले नयाँ पार्क, विद्यालय, वा अन्य विकास निर्माणका काममा लगानी गरौं। किन हामी तलब भत्ता लिन्छौं? तलब भत्ताका लागि त लोकसेवा पास गरेर आउन पर्यो नि। जनतालाई चाँही सेवा गर्छु भनेर आउने अनि जनताले तिरेको करबाट हामी कसरी भत्ता लिन सक्छौं? यसमा मलाई अलिकति असजिलो लागिरहेको छ।

तपाईं आफैं तलब भत्ता नलिई बस्न तयार हुनुहुन्छ त?म तयार छु। मैले योभन्दा पहिला पनि विद्यासुन्दर शाक्य मेयर हुँदा तीनवटा मिटिङमा भत्ता लिन पाइँदैन भन्दा उहाँले मलाई मिठै शब्द दिनुभयो। पछि अकाउन्ट खोलेर तलब हालिदिसकेपछि त्यो तलब के गरेँ भन्ने मेरो व्यक्तिगत कुरा हो। तर, लिनहुँदैन भन्ने पक्षमा म थिएँ।

काठमाडौंको फोहोरकै कुरामा केन्द्रित होऔं। लामो समय फोहोर नउठेर समस्या भइरहँदा तपाई आफ्नो वडामा चाँहि फोहोर उठाउन आफैं लाग्नुभयो। यो जागरण कहाँबाट आयो?
मेरो एकजना भाइको विवाह थियो। हामी तीन दिन झापा बस्यौं। झापाबाट एयरपोर्ट झर्नासाथ मलाई आफैंलाई फोहोर देखेर लाज लाग्यो।हामी नेपालीले सिसडोलमा फोहोर लान नदिएको रहेछ भन्छौं। तर एउटा विदेशीले एयरपोर्टमा फोहोर देख्यो भने के भन्छ ? मलाई रातभरि निन्द्रा लागेन। अनि फोहोर उठाउन थालेँ।

त्यो फोहोर उठाएर कहाँ लानुभयो?
बाटोमै राखेका छौं। हिजो पीएल सिंहका पालामा काठमाडौंका प्रत्येक करिडोरहरु फोहोर राखेर माटोले पुरेर बनेका करिडोरहरु हुन्। यो मुलुकमा काठमाडौंमा पानी कृष्णप्रसाद भट्टराईले ल्याउने भन्नुभयो तर आज भर्खर मेलम्ची आएको छ। अनि प्रत्येक खोलाको किनारमा करिडोर खोल्ने भनेर पीएल सिंहले खोल्नुभएको हो। त्यो करिडोर बनाउँदा ९० प्रतिशत ठाउँमा फोहोर राख्दै माटोले पुर्दै करिडोर बनेका हुन्। हामीले पनि अहिले बाटो बाटोमा ब्यवस्थित सँग राखेका छौँ।

भनेको, अब सिसडोल र बन्चरेडाँडा आवश्यक पर्दैन?यसको आन्तरिक जीवनभित्र नै समस्या समाधान गर्नुपर्छ। हामी सधैं फोहोरलाई समस्या देखाएर जनप्रतिनिधिहरु भाग्न मिल्दैन। हामीले उत्पादन गरेको चिज ब्यवस्थापन पनि गर्नपर्छ। हिजो गोकर्णमा दिएन भन्यौं, आज बञ्चरेडाँडामा वा अर्को डाँडामा दिएन भन्दैछौं।

काठमाडौं भ्यालीभित्रै फोहोर ब्यवस्थापन हुनसक्छ भनेर विकल्प खोजी हुनुपर्छ कि पर्दैन? मैले पहिलाका मेयरलाई पनि यहीँभित्र वैकल्पिक ब्यवस्था गरौं भनेको थिएँ। अहिले पनि बन्चरेडाँडामा फोहोर लाँदा त्यहाँका जनताका समस्या समाधान गर्न सक्यौं वा सकेनौं भन्ने कुरा पनि सम्बोधन हुनुपर्छ।

बन्चरेडाँडा र सिसडोलवासीको माग जायज छ कि नाजायज? अहिले त्यो कमिटीमा पनि छैन। त्यहाँका जनतालाई चिन्दा पनि चिन्दिनँ। म वडाको मान्छेलाई धेरै ठूलो कुरा सोधिदिँदा समस्या हुन्छ। मलाई वडाको मात्र सोधिदिनुभयो भने राम्रो हुन्थ्यो। म कार्यपालिका सदस्य भएकाले केही कुरा राख्नपर्यो भने कार्यपालिकामा नै राख्छु।

कार्यपालिका बैठककै कुरा उठ्यो, प्रशासकीय प्रमुखसँग आक्रोशित हुँदा तपाई ‘भाइरल’ बन्नुभयो। खास त्यहाँ के भएको हो? तपाईंलाई चित्त नबुझेको के हो?
त्यहाँ केही पनि भएकै थिएन। त्यहाँ विधि र प्रक्रिया अपनाइएन, विधि र प्रक्रियामा आउनुस् भनेपछि मेयर साबले स्वीकार्नुभयो। मिटिङको अन्त्य भयो भनेर प्रशासकीय अधिकृतले भन्दै हुनुुहुन्थ्यो। प्रशासकीय अधिकृत भनेको चाँहि टिपोट गर्न बस्ने हो। सहयोगीका रुपमा बस्ने हो। उहाँले कार्यपालिकाका सदस्यहरुलाई निर्देशन दिन मिल्दैनथ्यो।

त्यहाँ जे भएको थियो, त्यो आएन। त्यसकारण त्यहाँ भएको वस्तुस्थितिबारे प्रष्ट पारिदिन पनि म मिडियाकर्मीहरुलाई आग्रह गर्छु।नियमापत्ति भनेको कुरा उठेर नभने के सुतेर भन्ने? स्वर त मेरो ठूलो छ, के गर्नु त। जसले यहाँ भाइरल भनिरहेका छन, त्यो दिमागले काठमाडौं बन्दैन।

तपाईंको आपत्तिचाँहि प्रमुख प्रशासकीय अधिकृतमाथि हो?होइन। मेरो आपत्ति विधि र प्रक्रियामा हो। कुनै व्यक्तिमा होइन। प्रक्रियागत रुपमा आउँदा मेयर साबले तुरुन्त स्वीकारेर प्रक्रियामा आउनुभयो। त्यसपछि सातवटा एजेण्डा ल्याउनुभयो तुरुन्तै पास पनि भए।

तर, सामाजिक सञ्जालका टिप्पणी हेर्दा त कांग्रेसले महानगरमा बहुमत वडा जितेका कारणले स्वतन्त्र ब्यक्तिलाई काम गर्न नदिन घेराबन्दी सुरु गर्यो भन्ने पनि सुनिन्छ नि?
हैन। यस्तो कुरा गर्ने मानिसहरु कहाँ हुनुहुन्छ? स्वदेशलाई निर्माण गरिसकेर विदेशमा पसिना चुहाउन जानुभएको छ? काठमाडौं र गाउँ बनाएर जानुभएको हैन उहाँहरु? कमेन्ट गर्ने अधिकांश मान्छेहरु स्वदेशमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ? काठमाडौंलाई भरिपूर्ण बनाएर विदेश जानुभएको हो? हामी त यही माटो र भुगोल बनाउँ भनेर यहाँ बसेका हौं। हामीलाई कुनै भाइरल बन्नु छैन। हामीलाई काम गर्नुछ।

काठमाडौं महानगरमा कांग्रेसले घेराबन्दी गरेको होइन त?हिजो नेकपा एमालेको मेयर हुनुुहन्थ्यो। उहाँहरुको बहुमत पनि थियो। तर, मेन स्ट्रिममा मुकुन्द रिजाल किन हुन्थ्यो त? म प्रतिप्रश्न गर्छु– स्थानीय सरकार सञ्चालन कसरी हुन्छ, कार्यपालिका बैठक कसरी बस्छ र निर्णय कसरी हुन्छ भनेर प्रक्रिया किन नबुझेको? हाम्रो संविधानको आडमा नै म वडाध्यक्ष बनेको हुँ। संविधानलाई पालना गर्दैन भने म त्यो पार्टीमात्र नभई सबैको विरोध गर्छु। त्यसले नै कानुन बनाउनपर्छ भनेर लागेको मान्छे हामी त्यसलाई च्यात्न खोजेपछि चुप बसिन्छ त? जुनदिन कार्यपालिका बैठकमा जे भयो, त्यो हाम्रो आवाज हो।

विधि र पद्दतिका कुरा गरिरहँदा तपाई आफैं पनि रमाइलो गर्ने प्रकृतिको मानिस पनि हुनुहुँदोरहेछ। केही दिनदेखि अफिसमै बसेर वडाध्यक्षले टिकटक बनायो भन्नेखालका कुराहरु पनि आउन थालेका छन नि? फूलको आँखामा फूलै संसार। मुकुन्द रिजालले ४ वर्षअघि बनाएको टिकटक हो त्यो। ४ वर्षसम्म उहाँहरुलाई त्यो खोज्न परेन। अनि मेरो बोर्ड बैठकको दिन चाँहि किन खोज्नपर्यो? तर, उहाँहरुलाई म सलाम पनि गर्छु। खोजेर हेरिदिनुभयो। आफ्नो मनमा लागेको आवेगहरु पोख्न पाउनुभयो।

अन्तिममा, काठमाडौंमा एकजना स्वतन्त्र ब्यक्ति मेयर बनिरहँदा तपाईंहरुले गर्ने सहयोग कस्तो हुन्छ?नेकपा एमालेको मेयर हुँदा त कांग्रेसको वडाध्यक्ष भएर पनि एकता, सहकार्य गरियो। काठमाडौंमा ६४ करोड रुपैयाँ लगेर काम गर्ने मान्छे वडामा म मात्रै हो। एमालेले लान सकेन। मेरो वडा भवनमा मात्रै साढे ८ करोडमा महानगरपालिकाको नाममा जग्गा किनेको छु। सार्वजनिक पर्तीमा होइन, जिटुजीबाट किनेका छौं।

यहाँ त बौद्धिक साथीहरु हुनुहुन्छ। पैसो कति आयो भन्लान् फेरि। जिटुजी भन्ने हुन्छ। त्यसबाट किनेको हो। २० आना २ पैसा जग्गा हामीले महानगरको नाममा पूर्जा बनाएका छौं। फेरि मुकुन्देको नाममा होइन नि। साढे ११ करोडको बिल्डिङ बनिरहेको छ।

१५ रोपनी निजी जग्गामा पार्क बनाएको छ। मलाई ‘रिप’ लेख्ने केही मित्रहरुलाई त्यहाँ आएर रुखमुनि बसेर हावा खाएर बस्न अनुरोध गर्छु। मेरो वडामा ९० प्रतिशत पिच भएको छ। मेरा वडाबासीलाई सोध्नुस्, चुनाव के रहेछ भनेर। मुकुन्द रिजाल चुनाव उठ्दिनँ भन्दा पनि दाइ तँ चाहियो, भाइ तँ चाहियो, भतिज तँ चाहियो, जुन पार्टीबाट उठे पनि हुन्छ भन्नुभएको छ।नेपाल खबर बाट

Leave a Reply

Your email address will not be published.