कुन प्रदेशमा आजको मौसम कस्तो ? वर्षासँगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

समाचार

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे विभागले जनाएको छ ।

वर्षासँगै पहिराे खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध ,वर्षासँगै खसेको पहिराेकाे कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपे खोला स्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। इच्छाकामना–४ स्थित नाग्दि खोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.