संसदीय चुनाव लड्ने समाचारले तहल्का पिटेपछि बल्ल बोले रबि लामिछाने, बताए वास्तविकता

समाचार

काठमाडौं । आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौदेखि खटिएकाहरु स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका हुन् ।

केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके । यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्ने समाचारले तहल्का मच्चाएपछि लामिछानेले बल्ल मुख खोलेका छन् ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन,’ लामिछानेले भने, ‘यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’

लड्ने सम्भावना कति छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले यो विषयमा कुरा गर्ने बेला भइसकेको छैन । बेला भएपछि भनौंला नि ।’
लामिछानेले आफूलाई प्रस्तावहरू भने आइरहेको उल्लेख गरे ।

‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । विवेकशीलका पूर्वनेता पुकार बम, भाइरलम्यान मुकुन्द घिमिरे, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, सम्पदाविद सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.