यिनै हुन् विद्युतको पोलबाट चढेर हेलिकप्टरबाट झर्ने पुरुष, जसले ताण्डव देखाउदा राज्यले १ करोड घाटा व्यहोर्‍यो

समाचार

नुवाकोट — विद्युत् प्रसारणलाइनका हाइटेन्सन टावर जहाँसुकै होस् त्यस वरपरका बासिन्दाले चढ्ने न काम पर्छ, न कसैले त्यस्तो दुस्साहस नै गर्छन् । तर शनिबार बिहान करिब ११ बजे ककनी गाउँपालिका–७ ढाँडेफेदीमा रहेको हाइटेन्सन टावरमा स्थानीयले अनौठो दृश्य देखे ।

Ads By Admana
६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको प्रसारणलाइनको उक्त टावरमा कोही खुरुखुरु उक्लिरहेको थियो । ती विद्युत् प्राधिकरण वा आयोजनाका प्राविधिक थिएनन् । देख्नेहरू भेला भए । होहल्ला गरे । चिच्याए– ‘ए को हो ? तल उत्र ।’ माथि उक्लिनेले न जवाफ फर्कायो, न त उत्रिने सुरसार नै देखायो । गाउँले डराए– ‘को हो कुन्नि ! करेन्ट लागेर ज्यान जाला ।’

हतार–हतार जलविद्युत् आयोजना र प्रहरीलाई फोन गरियो । ऐन–मौकामा खबर हुन सकेकाले आयोजनाले लाइन काट्यो, त्यसैले तत्कालीन जोखिम घट्यो, उनलाई उतार्न अर्को महाभारत सुरु भयो । नजिकै ढिकुरे चौकीको प्रहरी टोली आयो, उसैगरी झर्न आग्रह गर्दै प्रहरीहरू चिच्याए । तर टावरबाट तारमा पुगेका व्यक्ति फर्किएनन् । तल्लो तारमा खुट्टा राखेर माथिल्लो तार समात्दै उनी अगाडि–अगाडि बढ्दै गए । यो सबपछि प्रहरी र स्थानीय झन् ैआत्तिए । अब बचाउने कसरी ?

स्थानीयको भीड जम्मा भए पनि ती व्यक्ति बेलकोट नगरपालिका–१३ घलेगाउँका ४३ वर्षीय माइला विक हुन् भन्ने पहिचान भयो । टावरमुनि दिनभर मेला लागेजस्तै भीड भयो । फोटो र भिडियो खिच्नेहरूले सामाजिक सञ्जालमा पोस्ट गरे । तर उनलाई उतार्न कसैले पनि चढ्ने हिम्मत गर्न सकेनन्, माथि कोही जाँदा उनी झन् पर सर्लान् भन्ने डर पनि थियो । अन्ततः नेपाली सेनालाई खबर गरियो । उद्धारका लागि सेना हेलिकोप्टर लिएर गयो ।

बिहान ११ बजे माइला टावरमा चढेका थिए, साढे सात घण्टासम्म उनी माथि नै थिए । साँझ ६ः५० बजे सेनाको टोलीले उनलाई तल उतार्‍यो । माइलाको सकुशल उद्धार गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । उनको मानसिक अवस्था ठीक नभएको जानकारी आए पनि त्यसको यकिन नभएको उनको भनाइ छ । ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

नुवाकोटस्थित त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको विद्युत् आपूर्ति करिब आठ घण्टा रोकिँदा देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त बनेको थियो । प्रसारणलाइनमा मान्छे चढेको सूचना पाएपछि त्रिशूली–काठमाडौं प्रसारणलाइनमा जोडिने त्रिशूली–३ ए र अरू साना आयोजनाको विद्युत् उत्पादन पनि बन्द गरिएको थियो । जसले साँझ ८ बजेसम्म करिब ६५ मेगावाट बिजुली प्रसारण अवरोध भयो । बिजुली आपूर्ति रोकिएपछि प्रतिघण्टा करिब १० लाख रुपैयाँ बराबर घाटा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ‘माथिल्लो त्रिशूली–३ ए र अर्को ५ मेगावाट जति सानो आयोजनाको बिजुली उत्पादन दिनभरजसो रोकियो, जसकारण प्राधिकरणलाई १ करोडभन्दा बढी घाटा भएको हाम्रो अनुमान छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने र कतै कम क्षमतामा बिजुली पठायौं । माग धान्न भारतबाट पनि बिजुली ल्याइयो ।’

-कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.