बुद्ध धर्मको अपमान गरिएको भन्दै ‘कबड्डी ४’को प्रदर्शनमा लगाइयो प्रतिबन्ध !

मनोरंजन

रामबाबु गुरूङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले प्रतिबन्ध लगाएको छ।मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन्।

‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ उनले फेसबुकमा लेखेका छन्।

शुक्रबारदेखि यो फिल्म सिक्किममा प्रदर्शन गर्न तयारी थियो। फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो।

केहि बौद्धमार्गीहरुले बुद्ध धर्मको अपमान भएको बताउदै उक्त माग राखेका थिए।समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।

फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।यस्तै दुई दिन अघि नेपालमै पनि यो चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाउनु पर्ने मागसहित जिप्रका काठमाण्डौमा मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.