बिजुलीको तारमा चढेर तहल्का मच्चाएका माइला आश्रममा गाँजा माग्छन्

समाचार

बिजुलीको हाइटेन्सन लाइनको तारमा चढेर शनिबार दिनभर तनाव दिएका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ का ४२ वर्षीय माइला भन्ने हिमबहादुर सुनार विक अहिले आश्रममा छन्। नेपाली सेनाले शनिबार साँझ उद्धार गरेका माइलालाई प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिकास्थित नवजीवन परोपकार संस्थामा बुझाएको थियो। प्रहरीले संस्थालाई बुझाउँदै माइलाको उपचार तथा हेरचाह गर्ने जिम्मा दिएको छ।

अहिले संस्थामा उनलाई काउन्सिलिङ गरिरहेको र डाक्टरको परामर्शमा उपचार पनि सुरु गरिने संस्थाले जानकारी दिएको छ। माइलाले भने आफू पारिवारिक तनावमा रहेको बताउने गरेका छन्।

‘पारिवारिक तनावकै कारण आफू बिजुलीको तारमा मर्न भनेर चढेको बताउनु भएको छ। उहाँका तनावका विषय हामीले धेरै कोट्याएनौं, दुर्व्यसनमा पनि फस्नु भएको रहेछ। बिहानैदेखि चुरोट र गाँजा मागिरहनुहुन्छ’, संस्थाका एक पदाधिकारीले भने।प्रहरी चौकी ककनीले शनिबार नै उनलाई नवजीवन परोपकार समाजमा बुझाएको थियो। परोपकार समाजले सोमबारदेखि माइलाको उपचार सुरु गर्ने भएको छ।

संस्थाकी काेषाध्यक्ष मिरा केसीले भनिन्, ‘थरी थरी खालकाे बाेलिराख्नु हुन्छ। शारीरिक रुपमै ठिकै देखिनुहुन्छ। र उहाँलाई सामान्य औषधि चलाइएकाे छ। थप कुरा डाक्टरकाे परामर्शपछि निर्णय गरिने छ।’

आइतबार भिडिओ कलमा कुरा गरेका संस्थाका अध्यक्ष दुर्गानाथ दाहालसँग पनि उनले पारिवारिक तनावको कारण आफूले त्यस्तो गरेको बताएका थिए। तर उनले त्यस विषयमा कुरा गर्न नचाहेको र आफूले पनि धेरै कुरा नसोधेको दाहालले बताए।

ककनी गाउँपालिका ७ ढाडफेदीमा रहेको हाइटेन्सन लाइनको बिजुलीको पोलबाट चढेर तारैतार हिँडेका थिए। दिनभर स्थानीय र प्रहरीले प्रयास गर्दा पनि ओराल्न नसकेका माइलालाई साँझ ७ः२० बजेतिर नेपाली सेनाले उनको उद्धार गरेको थियो। माइला तारमा चढेपछि त्रीशुली ३ ए को उत्पादन शनिबार दिनभर बन्द गरिएको थियो।

Leave a Reply

Your email address will not be published.