जाहेरी परेपनि मन्त्रीलाई पक्राउ गर्न मिल्दैन भन्दै विमलालाई प्रहरीले सम्मानसाथ बुटवल लगिदियो

राजनिति

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ ।

दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको र अर्काका श्रीमानलाई मेरो भन्दै दाबी गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।

संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको उहाँले जानकारी दिनुभयो ।

‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्याउनुपर्ने हुन्छ ।

उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्याएर छोडेका छौं ।’

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ ।

पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको छ ।

प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.