काठमाडौँ – काठमाडौँ महागरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह उर्फ बालेनको नयाँ सपना सामाजिक सञ्जालमा छाएको छ । निर्वाचित भएको दिनदेखि नै अहोरात्र जनताको सेवामा खटिएका बालेनको नयाँ सपनाको प्रशंसा गर्दै धेरैले सामाजिक सञ्जालमा सेयर गर्दै भाइरल नै बनाएका हुन् ।
बालेनले लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा सबैको मनछुने स्टाटस लेखेका छन् । उनले आफ्ना मनका बहहरु पोख्दै जिम्मेवारीले गर्दा व्यस्तता बढेको बताएका छन् । साथै, जिन्दगी पनि सहज नबनेको उनको भनाई छ । साना बालबालीकासँग फुटबल खेल्दै गर्दाको सानो भिडियो क्लिप सहित बालेनले आफ्ना कुराहरु सेयर गरेका छन् ।
आफू सामान्य जीन्दगीमा रमाउँन चाहेको भन्दै उनले अहिले केहि असामान्य जस्तो देखिएको भनेका छन् ।मेयर शाहले लेखेको स्टाटस छोटो समयमै सामाजिक संजालमा भाइरल भएको छ ।
उनको स्टाटसमा दशौँ हजार लाइक आएको छ भने प्रतिक्रियाहरु पनि निकै ठूलो संख्यामा आइरहेको छ । प्रतिक्रिया दिनेहरुले उनीबाट ठूलो आशा देखिएको भन्दै सफलताको शुभकामना दिइरहेका छन् ।
मेयर शाहले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘चाहना यो हो कि म यसरी नै जहाँ पनि पुग्न सकौँ सँधै । साना भाईबहिनीहरु गल्लिमा खेल्दै गर्दा म त्यहिँ पुगौँ । घरघरमा आराम हुनुहुन्छ भन्दै पुगौँ । हरेकले सुनाउनु पर्ने समस्याका कुरा सहजै सुन्न सक्ने ठाउँमा भइरहुँ । म पुग्नै नसक्ने र भेट्नै नसक्ने बन्न नपरोस् । आम मान्छेको प्रतिनिधी मात्रै हु म । आममान्छे जस्तै हुन सकौँ ।’
उनले अगाडि लेखेका छन्, ‘सम्भवतः अहिले नयाँ भएर, धेरै चासोले गर्दा, व्यस्त भएर, समय अभावले गर्दा अलिक, असामान्यु भइरहेको जस्तो लाग्छ । अहिलेको दौडधुप र हतारो त्यो बनाउनका लागि हो कि कुनै दिन महानगरको व्यवस्थापन यति नियमित बनोस्, मेयर फुर्सदिलो बनोस् । अनि यसरी नै भेटियोस् । र, महानगर आफ्नै गतिमा सहज ढंगले अगाडि बढिरहोस् । सपना यति हो । चाहना यति हो । लक्ष्य यति हो ।’