गुण्डा नाइकेलाई भेट्न डीएसपी जेलभित्रै पुगेपछि…

समाचार

जेलभित्रै पुगेर गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्ने डीएसपी मिलन केसीमाथि छानबिन सुरु भएको छ। प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेको हो।

यस विषयमा छानबिन सुरु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले बताए। छानबिनका लागि एसपी दिनेशराज मैनालीकाे स‌ंयाेजकत्वमा तीन सदस्यीय समिति गठन भएकाे छ।

‘हामी छानबिनमै छौं। विस्तृत अहिले म भन्दिन, अहिले यति भन्छु हामीले यो घटना थाहा पाइसकेपछि छानबिन गरिरहेका छौं। उसलाई बोलाएर पनि सोधखोज गरिरहेका छौं। पेशागत मर्यादाभित्र पर्छ कि पर्दैन त्यो पनि हेर्दैछौं’, एसएसपी गिरीले भने।

उनी किन त्यहाँ गएका थिए भन्ने अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए। यस विषयमा कुरा गर्न सम्पर्क गर्न खाेज्दा डीएसपी केसीले भने फोन उठाएनन्। निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा समीरमानसिंह पुर्पक्षका लागि थुनामा छन्।

समीरमानलाई भेट्न डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेको खुलेको छ। गौचन हत्याका मुख्य योजनाकार बस्नेतले कारागारभित्रै रहँदा पनि आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। यसअघि पनि सुन्धारा कारागारमा आपराधिक पृष्ठभूमिका व्यक्ति पटक–पटक बस्नेतलाई भेट्न पुगेको पाइएको थियो। २०७४ असोजमा गौचन हत्या भएको थियो। २ करोड रुपैयाँ चन्दा नदिँदा बस्नेतकै योजनामा हत्या भएको प्रहरीको दाबी छ।

-नेपालखबरबाट

Leave a Reply

Your email address will not be published.