अनुसन्धानमा खुलेन बलात्कार गर्ने दोस्रो व्यक्ति : किशोरीले चिनिनन्, मनोज पाण्डेले भनेनन्

मनोरंजन समाचार

किशोरी बलात्कार गर्ने दोस्रो व्यक्ति पत्ता लगाउन प्रहरीले नसेकेको देखिएको छ। मनोज पाण्डेले अरुलाई पनि बलात्कार गर्न लगाएको बताए पनि त्यो व्यक्ति को थियो भन्ने अनुसन्धानबाट पनि खुल्न नसकेको हो। मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध बुधबार अदालतमा मुद्दा दर्ता भएपनि अरु व्यक्तिको भने पहिचान उल्लेख छैन। मनोज पाण्डेले उक्त घटना इन्कार गर्दै बयान दिएका छन्।

किशोरीले आफूमाथि अनामनगरको एक होटलमा अर्को व्यक्तिले पनि बलात्कार गरेको बताएकी छन्। तर ती व्यक्ति को थिए भन्ने आफूले नचिनेको उनको बयान छ। पाण्डेले द्वारीका होटल तथा होटल रेजेन्सी, एभरेष्ट होटल र अनामनगरको एक होटलमा बलात्कार गरेको अभियोजनमा उल्लेख छ।

मनोज पाण्डेले आफूलाई अनामनगरको होटलमा बोलाएको र त्यहाँ पुग्दा पहिले नै एक जना अपरिचित पुरुष बसिरहेको किशोरीले बताएकी छन्।‘मनोज पाण्डेले ती व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर हेर्छु भनि त्रासपूर्ण तरिकाले भने’, ती किशोरीको बयान छ।पाण्डेविरुद्ध त्यो अपरिचित व्यक्तिसँग पनि जबरजस्ती करणी गराई बेस्यावृत्ति गर्न बाध्य पारेको अभियोग छ। तर ती व्यक्ति को थिए भन्ने आफूले नचिनेको उनले बताएकी छन्।

पाण्डेले सौन्दर्य प्रतियोगिता भएको केही समयपछि ती किशोरी आफ्नो अफिसमा आएर मलाई शोषण भयो भनेको बयानमा बताएका छन्। तर ती किशोरी माथि आफू र अन्य कसैले पनि यौन शोषण नगरेको दाबी पाण्डेले गरेका छन्। २०७१ सालमा भएको यो घटना गत महिना सार्वजनिक भएको थियो। घटना निक्कै पहिलेको हुँदा प्रहरीले अन्य प्रमाण जुटाउन नसकेको हो। प्रमाणका रुपमा किशोरीले टिकटकमार्फत सार्वजनिक गरेका भिडियो संलग्न सिडी पेश गरिएको छ।

मनोजको कार्यालयमा फेला पारेको ल्यापटप परीक्षणका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा पठाइएको उल्लेख छ। परीक्षण भइ आएपछि पेश गरिने अभियोजनपत्रमा उल्लेख छ। यस्तै, घटनामा जोडिएका केही व्यक्तिसँग पनि प्रहरीले बयान लिएको थियो। अन्य व्यक्तिको बयानबाट पनि त्यतिबेला घटना भएको पुष्टि भएको छ। किशोरीले यसबारे तीनजना व्यक्तिलाई पहिल्यै जानकारी गराएको बताएकी छन्। प्रहरीले उनीहरुसँग पनि बयान लिएको छ।

-नेपालखबरमा उजिर कार्कीले लेखेकाछन् ।

Leave a Reply

Your email address will not be published.