हिसाब माग्दा हेडसरले हाने शिक्षिकामाथि लात्ती, पिसाब नरोकिएपछि विराटनगर पुर्याइयो !

समाचार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रधानाध्यापकको कुटपिटबाट शिक्षिका सख्त घाइते भएकी छन् । दिप्रुङ चुइचुम्मा–२, डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्की सोही विद्यालयका प्रधानाध्यापकबाट कुटिएकी हुन् । प्रधानाध्यापक लक्ष्मी पौडेलले पेटमा लात्तीले हान्दा घाइते भएकी उनलाई उपचारका लागि खोटाङबाट विराटनगर ल्याइएको छ ।

विद्यालयको आर्थिक गतिविधि र हिसाबकिताबबारे जिज्ञासा राख्दा प्रअ पौडेलले शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकमा हातपात गर्दै लात्ती प्रहार गरेको कार्कीले बताइन् ।उनका श्रीमान् कृष्ण कार्कीका अनुसार कुटपिटपछि निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या भएपछि शिक्षिका गोमालाई थप उपचारका लागि जिल्ला अस्पताल खोटाङले नोबेल अस्पताल विराटनगर रेफर गरिदिएको छ । “ठूलो अस्पतालमा उपचार गर्न लैजानु भनेपछि विराटनगर लगेका छौँ,” कृष्णले भने । प्रअ पौडेलविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको उनले बताए । घटनाबारे छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पाठ्यपुस्तकको १० हजार ८८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार ५९६ सहित एक लाख ३२ हजार ९३१ रुपैयाँ आय–व्ययको विषयमा जिज्ञासा राख्दा आफूमाथि आक्रमण भएको कार्कीको भनाइ छ । यसअघि अप्रेसन गरिएको तल्लो पेटमा लात्तीले हानेका कारण स्वास्थ्य समस्या निम्तिएको कार्कीका श्रीमान् कृष्णले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकुन्तला खत्रीले घटना भएका बेला आफू केही पर भएकाले लात्ती हानेको नदेखेको बताइन् । तर, दुवैका बीचमा विवाद भएको थाहा पाएको उनको भनाइ छ ।उनले भनिन्, “ठेलमठेल भएको मैले पनि देखेँ । पछि शिक्षिका कार्की पेट सहन नसक्ने गरी दुख्यो भन्दै रुनु भयो । अनि, उपचारमा पठाइएको हो ।”

Leave a Reply

Your email address will not be published.