मन्त्री आले हैन वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी पो निलम्बित

समाचार

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पो निलम्बन गरेको छ ।सरकारको मात्र हैन आम नेपालीको समेत इज्जत जाने हर्कत गरेका कारण पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको बखास्तीको माग भइरहेका बेला नेपाल वायु सेवा निगमका अध्यक्ष अधिकारीलाई पो सरकारले निलम्बन गरेको छ ।

आले नै सरकार निर्माणको हिस्सा भएका कारण आले हटाउने शक्ति कोहीसँग नभएका कारण पीडित नै हटाएको प्रतिक्रिया आएको छ ।अधिकारीलाई आलेले कार्यकक्षमा नै बोलाएर लछारपछार तथा गालिगलौज गरेको अडियो सार्वजनिक भएको थियो । तरपनि सरकारले आले हैन अधिकारी हटायो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त हुनुभएको थियो । पछिल्लो समय उहाँको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो ।

यद्यपी त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो ।

निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप कर्मचारीहरुले अधिकारीमाथि लगाएका थिए ।

त्यसपछि सरकारले अधिकारीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.