दुलही लिन बेहुलाको साइकल सवारी : स्वास्थ्यपनि बन्ने, इन्धनपनि बच्ने सन्देश दिने सोच

राेचक

तनहुँ । केही नयाँ गर्ने सोचले मानिसलाई अरुसामु चिनाउँछ ।घटना केही क्षणमा नै भइरलपनि बन्छ । अहिले एउटा साधारण बिहे खुबै भाइरल बनेको छ ।

तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गएको बेला साइकलमा चढेर बेहुली लिन पुगेका तस्वीर सबैले सेयर गरिरहेका छन् ।विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् ।

तर तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर थियो ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे ।

बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती भने बसमा थिए । सबैसँग साइकल नभएकाले अरुलाई बस प्रयोग गराएको उनको भनाई छ ।

बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बुबा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुशी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले ‘हेर्दा अनौठो देखिएपनि यस्तो कुराले धेरै सन्देश दिने बताउनुभयो । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ ।’

सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेर रेकर्ड राख्नुभएको छ । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उहाँ आफूलाई साइकल प्रेमी रहेको बताउनुहुन्छ ।

‘म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।’ म खुशी छु बेहुलाले प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published.