नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद डा. भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् ।बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।
‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।
नेता रावलका अनुसार अंग्रेजी इम्बोस्ड नम्बरले नेपाली भाषाको अपमान भएको संकेत गर्दै त्यसो इम्बोस्ड नम्बरले देशको सुरक्षामा समेत खतरा रहेको बताएका छन ।
सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ । तर इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै विरोध भइरहेको छ ।
यस विषयमा छलफल गर्न समितिले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाएको थियो । तर उनी विनाजानकारी अनुपस्थित भएको समिति सभापति निरादेवी जैरुले बताइन् ।