राजिनामा दिँदा मन्त्री झाँक्री रोएर बोल्न सकिनन्

समाचार

काठमाडौं– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छिन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरेकी हुन्। त्यसअघि उनले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा समक्ष राजीनामा बुझाएकी थिइन्।

पत्रकार सम्मेलनमा झाँक्री पटक–पटक भावुक भएकी थिइन्। उनले आँशु रोक्न प्रयास गरिरहेकी उनी असफल भएकी थिइन्। भावुक भएका कारण आफूलाई बोल्न कठिनाइ पर्ने भन्दै उनले वातावरणलाई अलि रमाइलो बनाउने प्रयास गरेकी थिइन्।

त्यसै क्रममा उनले भनिन्, ‘त्यो सोसल मिडियामा आएको घर फिनिसिङ सकिदिऊँ न।’ केही अघि मन्त्री झाँक्रीको घर भन्दै एउटा फोटो सार्वजनिक भएको थियो।

आफूलाई मायाको चिनो दिनेहरुसँग पनि उनी ठट्टा गरिरहेकी थिइन्। वातावरण केही सहज भएपछि बोल्ने पालो लिएकी उनी सम्बोधन गर्दैगर्दा फेरि भावुक भएकी थिइन्। उनले लामो सम्बोधन गर्न पनि सकिनन्।

‘यो जिम्मेवारी दिनुहुने मेरो पार्टी, प्रधानमन्त्री र मन्त्रिपरिषद्को समग्र टिम, सहयोग गर्ने शहरी विकास मन्त्रालयका सचिव लगायतका समग्र टिमप्रति धन्यवाद दिन चाहन्छु’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘काम गर्दै जाउँला।’पत्रकारका प्रश्नको उत्तर दिने बेलामा पनि उनी आँशु झारिरहेकी थिइन्। झाँक्रीले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएकी थिइन्।

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि २० दिनभन्दा बढी उक्त निर्णय नै अलपत्र परेको थियो।

तर, पछिल्ला दिनमा एकीकृत समाजवादीको नेतृत्व आफ्नो पार्टीको निर्णय कार्यान्वयन नभएपछि प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक हुँदै गएको थियो। उनीहरुले आफ्नो अपमान सह्य नहुने चेतावनी दिँदै आएका थिए।यसैबीच असार ९ गते मन्त्री तथा सांसद्हरुले पार्टी नेतृत्वलाई ८ बुँदे शर्तसमेत राखेका थिए। तर, शनिबार मात्रै ६ जनाले हस्ताक्षर फिर्ता लिएका थिए।

सोही पार्टीबाट मन्त्री बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आइतबार नै पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरिसकेका छन्। यद्यपी उनले असार १० मै पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष राजीनामा बुझाइसकेका थिए।

Leave a Reply

Your email address will not be published.