माधव नेपालको जिब्रोको टुप्पोमै झुण्डियो बालेन र हर्कको नाम, आज त यतिसम्म भने !

राजनिति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको जिब्रोको टुप्पोमा बालेनहरुको नाम झुण्डिएको टिप्पणी हुन थालेको छ । अध्यक्ष नेपालले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्कराज राई साङपाङबारे बोल्न प्रायः नछुटाएपछि यस्तो टिप्पणी हुन थालेको हो ।

अध्यक्ष नेपालले कहिले बालेनसँग सहकार्य गर्न तयार रहेको बताउने गरेका छन् भने कहिले दिल खोलेर प्रशंसा गर्ने गरेका छन् । यसैबीच, आज त नेपालले बिग्रेका राजनीतिज्ञहरुको गुरु नै भन्दै बालेन र हर्कबाट धेरै कुरा सिक्नुपर्ने भन्दै प्रशंसा गरेका छन् ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर बालेन र हर्कले मेयर जितेको उल्लेख गर्दै उनले राम्रा नीति र प्रचार गर्न सकेमा जितिने बताएका हुन्। आइतबार काठमाडौंमा भएको अनेमसंघ (समाजवादी) को तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले बालेनले गायका गीत पनि आफूलाई मन परेको बताए।

‘बालेनले ¥यापमात्र होइन राम्रो नीति पनि अघि सारे। प्रचार पनि गरे, काठमाडौंको मेयर जिते,’ उनले भने, ‘हर्क पनि एक्लै उठेर धरानमा मेयर जिते। अटोमा राख्दै बिरामी उपचार गर्न अस्पताल लैजाने गर्दा रहेछन्। उनका काम जनताले हेरेका थिए।’

उनले स्थानीय चुनावमा केही ठाउँमा स्वतन्त्रले जितेपछि स्वतन्त्र उम्मेदवारी लहर नै चलेको बताए। उनले आफ्ना भ्रातृ संगठनहरूलाई राम्रा काम गर्न र प्रचार पनि गर्न आग्रह गरेका थिए। ‘स्वतन्त्र उठेर मात्र हुन्न, राम्रा काम र इमान्दारिता चाहिन्छ,’ उनले भने। गठबन्धन गर्दा स्थानीय चुनावमा कांग्रेस र माओवादीले केही ठाउँमा साथ नदिँदा पार्टीका उम्मेदवार पराजित भएको पनि अध्यक्ष नेपालको भनाइ थियो।

Leave a Reply

Your email address will not be published.