चन्द्रागिरिको भीरमा अड्केका तीन विदेशी नागरिकको शकुसल उद्धार गर्यो प्रहरीले

समाचार

काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भीरमा फसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो । यसरी उद्धार गरिएकामा अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन र मुम्बईका माधव गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रिपरिषद्मा हेरफेर-राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा उहाँहरुलाई सहभागी गराइएको हो ।

Leave a Reply

Your email address will not be published.