नवलपुर २ बाट उठ्ने तयारीमा रहेका महाधनाढ्य विनोद चौधरीलाई ‘बिग सरप्राइज’

राजनिति समाचार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तथा महाधनाढ्य विनोद चौधरीले नवलपुर २ बाट आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारी गरेका छन् । यसैबीच, चौधरीलाई बिग सरप्राइज आएको हो । उनलाई जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना छ । उनको यो चाहना सार्वजनिक भएपछि काँग्रेस विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताइसकेका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी सरकारले तयारी अगाडि बढाइसकेको छ । नवलपुर–२ बाट चुनाव लड्ने उनको तयारी छ । तर, पार्टीको निर्णयअनुसार आफू जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको चौधरीले बताएपछि उनलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्नका लागि प्रस्ताव गरेका हुन् ।

नेपाली काँग्रेस ललितपुर क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्वर थापाले ललितपुर क्षेत्र न ३ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । उनले सामजिक सञ्जाल फेसबुकमा लेखे, ‘ललितपुर क्षेत्र नं ३ मा स्वागत गर्न तयार छु ।’ ललितपुर–३ बाट हालकी उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल निर्वाचित भएकी हुन् ।

त्यस्तै, महोत्तरी जिल्लाको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले नेता चौधरीलाई महोत्तरी क्षेत्र नं. १ बाट चुनाव लड्न आग्रह गरेका छन् । काँग्रेसका स्थानीय नेतासमेत रहेका साहले भनेका छन्, ‘नेपाली काँग्रेसकोतर्फबाट महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचन लड्न हार्दिक अनुरोध गर्दछु। ’ यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल निर्वाचित भएका हुन् ।

बाँकेका शरद रेग्मीले बाँके–३ बाट चुनाव लड्न आग्रह गरेका छन् भने खिमराज ओलीले रुकुम पश्चिमबाट चुनाव लड्न चौधरीलाई आग्रह गरेका छन् । त्यस्तै, उनलाई सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न स्थानीयले आह्वान गरेका छन् । फेसबुकमा स्थानीय सरोज न्यौपाने, सागर नेपाल, दिनेश गजुरेल, पुर्णेश तामाङ, सुमन सिंहलगायतले सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक–२ बाट नेकपा एमालेका नेता शेरबहादुर तामाङ निर्वाचित भएका हुन् । काँग्रेसले यस निर्वाचन क्षेत्रमा राप्रपाका नेता पशुपति शम्शेर जबरालाई समर्थन गरेको थियो । धादिङका गिरिराज कडुवालले धादिङ–२ बाट निर्वाचन लड्न आग्रह गर्दै लेखेका छन्, ‘धादिङमा हामी स्वागत गर्छौं । हामी जिताउँछौं पनि ।’

फेसबुकमा कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्न आग्रह गरेका छन् । केहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न भनेका छन् । रामेश्वर पुडासैनीले काठमाडौं–३ बाट चुनाव लड्न चौधरीलाई भनेका छन् भने वीरबहादुर केसीले राम्रा मान्छेले जहाँबाट पनि चुनाव जित्ने भन्दै चौधरीले आउने निर्वाचन सजिलै जित्ने दावी गरेका छन् ।

उनले भने, ‘तपाईजस्ता राम्रा मान्छे जहाँबाट लड्दा पनि जित्नुहुन्छ ।’ पाल्पा, भोजपुर, म्याग्दी, दोलखा, सुनसरी, रुपन्देहीलगायतका जिल्लाबाट चुनाव लड्न पनि आग्रह गरिएको छ । नवलपुरका दुबै क्षेत्रबाट चुनाव लड्न सुझाव दिने स्थानीयको संख्या पनि उल्लेख्य छ ।

पछिल्लो समय फरक विधामा आफूलाई प्रमाणित गरेका सफल व्यक्तित्वहरु नागरिकको आकर्षणमा परेका छन् । चौधरी पनि भारतबाहेक दक्षिण एसियाका एक्ला फोर्ब्सको डलर अर्बपतिको सूचीमा सुचीकृत सफल उद्यमी हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी महाधिवेशन अन्तर्गत वडा तहबाटै प्रतिस्पर्धा गरेर आएका थिए ।

नेता चौधरी स्थानीय तह निर्वाचनमा नवलपुरका सबै स्थानीय तहमा चुनावी प्रचारप्रसारमा खटिएका थिए । उनले आफ्नो जीवनको बाँकी समय नेपाली काँग्रेसमार्फत राजनीतिमा बिताउने घोषणासमेत गरिसकेका छन् । आफ्नो तीन दशक लामो व्यवसायिक अनुभव राजनीतिमार्फत देशको समृद्धिका लागि खर्च गर्न चाहेका चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.