एम. अधिकारीजस्तै काण्डमा मुछिए कुलमान, नक्कली नाम नै भयो लिक !

समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एम. अधिकारीको नाममा एमालेको आर्थिक तथा योजना विभागको सदस्य बसेकोमा सर्वत्र आलोचना भएको छ ।

सरकारी ओहोदामा बस्ने पदाधिकारी वा कर्मचारीले राजनीतिक दलसँग आवद्धता जनाउन नहुने कानुनी र नैतिक प्रश्न अहिले जोडतोडका साथ उठाइएको छ । गभर्नर अधिकारीको उक्त आवद्धताप्रति विशेषगरी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र वाईसीएलले उग्र विरोध प्रदर्शन गरेका छन् ।

संसदमा काँग्रेसका केही नेता र माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले चर्को भाषामा अधिकारीको विरोध गर्नुभएको छ ।

उता, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो गृह जिल्ला तनहुँ पुगेर गभर्नर अधिकारीको राजीनामा माग्नुभएको छ । प्रेस युनियनको कार्यक्रममा बोल्दै पौडेलले गभर्नरको गतिविधिले नैतिक, संवैधानिक र कानुनी प्रश्न उठाएको बताइरहँदा एमालेले माओवादी संगठनमा रहेका सरकारी पदाधिकारीहरुको सूची नै सार्वजनिक गरेको छ ।

एमालेले भनेको छ, ‘अर्काको आङमा जुम्रा देख्नेले आफ्नो आङमा भैंसी नदेख्नु अचम्म छ । एम. अधिकारी भनेको महाप्रसाद होइनन् भनेर पार्टी र गभर्नर स्वयमले स्पष्टिकरण दिँदा पनि कोलोहोलो मच्चाउनेसँग जवाफ छ ?’ उक्त नामावली उपलब्ध गराउँदै एमालेले भनेको छ, ‘आफ्ना भनिएका मान्छेको जवाफ दिन पर्छ कि पर्दैन ? काँग्रेसको पनि त्यस्तै छ । तर अरुलाई अनुमानको भरमा पखाल्नु ठीक होइन ।’

जनआस्थालाई प्राप्त विवरणअनुसार माओवादी केन्द्रको जलस्रोत,सिन्चाई तथा ऊर्जा विभागका सदस्यमध्ये पाँच जना सरकारी जिम्मेवारीमा छन् । उक्त विभागको क्रम संख्या ६ मा रहेका किरण श्रेष्ठ नेपाल विद्युत प्राधिकरणअन्तर्गत तनहुँ हाइड्रोका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हुन् ।

त्यसैगरी नम्बर ७ मा रहेका खगेन्द्र शाही नेपाल विद्युत प्राधिकरणका इञ्जिनियर हुन् भने १० नम्बरका राजेन्द्रबहादुर क्षेत्री प्राधिकरण सञ्चालक समिति सदस्य हुन् ।

त्यसपछि १३ नम्बरमा उल्लेख गरिएका छवि पोखरेल लुम्बिनी सरकारको ग्रामीण विकास प्रमुख र १७ नम्बरका कृपा सिङ नेपाल विद्युत प्राधिकरणका एमडी छन् । कृपा सिंह कुलमान घिसिङको छद्य्म नाम भएको बताइन्छ । उनलाई विज्ञ भनेर लेखिएको हो ।

यस्तै माओवादी केन्द्रकै स्वास्थ्य तथा जनसंख्या विभागका सदस्यहरुमध्ये नौ जना सरकारी अधिकारी हुन् । जसको क्रम संख्या २ मा रहेका कमल रानाभाट, ११ नम्बरका डा. कृष्णसागर शर्मा, त्यसपछिका डा. गुरु खनाल र क्रम संख्या १४ मा डा. नीरेश थापा छन् । शर्मा क्यान्सर अस्पताल भरतपुरका चिकित्सक हुन् भने थापा कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपनिर्देशक हुन् ।

१९ र २० नम्बरका दुई जना डाक्टरको नाम पनि एमालेका एम अधिकारीजस्तै जिएन शर्मा र जिआर लोहनी, काठमाडौं हुन् । भक्तपुर क्यान्सर अस्पतालकी वरिष्ठ नर्स तथा मेट्रोन दयालक्ष्मी जोशी २६ नम्बरमा, टेकु अस्पतालको इमर्जेन्सीका इञ्चार्ज लीलानाथ भण्डारी ३१ र वीर अस्पतालको नर्सिङ अस्पतालमा रहेकी नर्सिङ प्रशिक्षक शुक्ला खनाल पनि माओवादी स्वास्थ्य तथा जनसंख्या विभागको ३४ नम्बरमा रहेको उनीहरूको दावी छ । यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published.