अभिनेत्री पूजा शर्मामाथी धोका दिएर अस्ट्रेलिया उडेको आरोप

मनोरंजन समाचार

काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री पूजा शर्मामाथी गम्भीर धोकाको आरोप लागेको छ ।नेपाली फिल्म ‘सम्झना बिर्सना’ को निर्माण पक्षले गम्भीर धोका दिएको आरो लगाएको छ ।

ठूलै हल्ला तर कमजोर ओपनिङ गरेको फिल्मलाई विकडेजमा १० प्रतिशतको अकुपेन्सी हासिल गर्न पनि मुस्किल हुनुको कारण पूजा भएको निर्माण पक्षको भनाई छ ।

कलाकारहरु प्रचारप्रसारमा नखटिएका कारण आफूहरुको लगानी डुब्ने अवस्थामा गएको उनीहरुको गुनासो छ । अभिनेत्री पूजा शर्मा ‘म यस्तो गीत गाउँछु २’ चलाउन अस्ट्रेलिया पुगेकी छन् ।

गत साताको पत्रकार सम्मेलनमा पनि पूजा उपस्थित भइनन् । अभिनेता आकाश श्रेष्ठ एक्लै खटिएका थिए । पूजाले आउँछु, म प्रचार गर्छु भन्दाभन्दै थाहै नदिई अस्ट्रेलिया उडेको उनीहरुको भनाई छ ।

सम्झौता अनुसार फिल्म खेल्नुसँगै प्रचारमा खट्नुपनि मुख्य कलाकारको दायीत्व हो । तर त्यो दायीत्व पूजाले पूरा नगरेर धोका दिएको उनीहरुको भनाई छ ।

फिल्मको पब्लिसिटीमा साथ नदिएपछि निर्देशक निमेष प्रधान असन्तुष्ट बने । ‘फिल्मको पब्लिसिटीमा दोस्रो दिनदेखि हिंड्नुपर्ने मान्छे अस्ट्रेलिया उडिदिनुभएछ,’ फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका प्रधानले भने, ‘आउँछु दाइ भनेर हिंडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो ।’

आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको उनले गुनासो गरे । ‘फिल्म आफ्नो ठाउँमा छ, तर उहाँहरुको व्यक्तिगत झगडाको असर फिल्ममा पर्नुहुने थिएन । हामीलाई नेगेटिभ प्रभाव पर्‍यो,’ उनले भने ।

निर्देशक प्रधानका अनुसार यो फिल्मका लागि पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । फिल्मको बजेट २ करोड रुपैयाँ बताइन्छ । ‘हामीले उहाँलाई भनेजति पारिश्रमिक दियौं र त्यसबापत निर्माताको अपेक्षा पनि हुन्छ,’ प्रधान भन्छन्, ‘त्यो पूरा भएन । हामी निराश छौं ।’

कलाकारले प्रचारप्रसारमा साथ नदिंदा निर्माताको यस्तो गुनासो पहिलोपटक चाहिं होइन । यसअघि पनि नाम चलेका कलाकारले पब्लिसिटीमा साथ नदिंदा निर्देशक र निर्माताको गुहार धेरैपटक सुनिएको छ ।

Leave a Reply

Your email address will not be published.