७०० वर्ष पुरानो ‘कुमारी’ प्रथा सुधारकी प्रतीक

समाचार

६ वर्षीय देवी चार दिनसम्म रोएपछि मानिस केही अनिष्ट हुने हो कि भनेर डराउन थालेका थिए । जनश्रुति अनुसार कुमारीको आँसुले राष्ट्रिय विपत्तिको पूर्व संकेत गर्छ भन्ने विश्वास गरिन्छ । नभन्दै उनी रोएको अन्तिम दिन २०५८ जेठ १९ मा तत्कालीन युवराज दीपेन्द्रले आफ्ना आमाबुबा राजा वीरेन्द्र र रानी ऐश्वर्यासहित शाही परिवारका नौ सदस्यलाई गोली हानेर हत्या गरिदिए ।

२० वर्षपछि राजधानी काठमाडौंबाट केही परको पुरानो सहर पाटनमा उनै कुमारी देवी भेटिइन् । कुनै समय देवीको रुपमा पूजिने चनिरा बज्राचार्य अहिले आफू काम गर्ने वित्तीय सेवा प्रदायक संस्थाको ऋण आवेदनहरु विश्लेषण गर्छिन् । उनले विश्वविद्यालयमा पनि वित्तसम्बन्धी विषय नै पढेकी थिइन् ।

कर्पोरेट जागिर खाने उनको निर्णयले उनलाई अन्य पूर्व कुमारीहरूबाट अलग बनाएको छ । कुमारीका रुपमा छानिएदेखि रजस्वला हुनुअघिसम्म जीवित देवीका रुपमा पूजिए पनि धेरै कुमारीहरु औपचारिक शिक्षाबाट बन्चित रहन्थे । ‘मानिसहरु देवी भएपछि किन पढ्नु प¥यो, देवीलाई त सब कुरा आफै थाहा हुन्छ भन्थे,’ २७ वर्षीय बज्राचार्यले भनिन्, ‘फेरि देवीलाई सिकाउने हिम्मत कसले गर्ने ?’

चनीरासँग हामी उनको पारिवारिक घरमा बसेर कुरा गरिरहेका थियौं । घरको एक पर्खालमा उनी कुमारी हुँदाको समयको तस्बिरहरु थिए । फोटोमा सानी चनीराको ओठमा चहकिलो रातो र आँखामा बाक्लो गाजल देखिन्छ । एउटा तस्बिरमा उनी देशको अन्तिम राजा ज्ञानेन्द्रसँगै छिन् ।

कुमारी हुँदाका समयमा उनका प्रायः दिनहरु उनलाई दर्शन गर्न आउने भक्तालु भेटेर बित्थ्यो । भक्तालुहरु उनलाई भेटेपछि घुँडा टेकेर निहुरिएर ढोग्थे । चनीरा केही नबोली आफू बसेको ठाउँबाट थोरै तन्किएर अबिरको टीका लगाइदिन्थिन् र निधार छोएर आशिष दिन्थिन् । कुमारीले कहिल्यै भूइँमा टेक्न नहुने भनेर उनलाई जहाँ जाँदा पनि बोक्नु पर्ने परम्परा छ ।

कुमारी प्रथाको इतिहास सात शताब्दी पुरानो रहेको विश्वास गरिन्छ । यो परम्परा हिन्दू देवी तलेजुको कथासँग जोडिन्छ । किम्बदन्ती अनुसार तलेजु तत्कालीन राजालाई विभिन्न विषयमा सल्लाह दिन आइरहन्थिन् । यस क्रममा राजाको मनमा कुविचार आयो । एक भेटमा राजाले देवीप्रति यौन चाहना अभिव्यक्त गर्ने प्रयास गरेपछि उनी गायब भइन् । राजाले पछि धेरै पश्चाताप गरेपछि देवीले अबदेखि सशरीर कहिल्यै देखा नपर्ने र कुमारी केटीको माध्यमबाट राजालाई सल्लाह जारी राख्ने सर्त राखिन् ।

त्यसपछि २ वर्षसम्मका साना नानीहरुलाई कुमारीका रुपमा छान्न थालियो । कुमारीहरु काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायका बौद्ध परिवारबाट छानिन्छ । एक समयमा एक दर्जन बालिका कुमारी रहने गर्छन् । काठमाडौं उपत्यकाका तीन प्राचिन राज्यको प्रतिनिधित्व गर्ने तीन जनाले मात्रै कुमारी जीवनशैलीलाई पूर्णरूपमा पालना गर्छन् । बाँकी अरु कुमारीले भने आशिंक रुपमा जिम्मेवारी निभाउने चनीराले बताइन् ।

३ करोड जनसंख्या भएको नेपालका सबैभन्दा ठूला दुई धार्मिक समुदाय हिन्दू र बौद्धका लागि साझा आस्थाकी प्रतीक हुन् कुमारी । ‘बौद्ध संस्कृतिमा बालबालिका रक्षक मानिन्छन्,’ नेवारी भाषाका सेवानिवृत्त प्राध्यापक चुण्ड बज्राचार्यले भनिन्, ‘यो हाम्रो संस्कृति, परम्परा र गौरवको विषय हो ।’

चनीराभन्दा अघिका अधिकांश कुमारीले औपचारिक शिक्षा पाउँदैनथे, जसमा उनकी आफन्त धनकुमारी बज्राचार्यसमेत एक हुन् । पहिलो महिनावारीसँगै कुमारीले तिनको दैवी गुण गुमाउने भएकाले तिनलाई सामान्य जीवनमा फर्काइन्छ । तर औपचारिक शिक्षाबाट बन्चित रहँदा धेरैजसो कुमारी अशिक्षित नै हुर्कन बाध्य हुन्छन् । परिणाम स्वरुप कुमारीहरु वयस्क जीवनमा संघर्ष गर्न बाध्य हुन्छन् ।

चनीरा अहिले त्यही अवस्था परिवर्तनकी प्रतीक बनेकी छन् । उनी वर्तमान कुमारीहरुको शिक्षादीक्षामा जोड दिन्छिन् । शिक्षाले कुमारी जीवनपछि समाजमा फर्किन सजिलोमात्रै बनाउँदैन, यस प्रथाप्रति समय समयमा उठ्ने विरोधलाई मत्थर गराउन पनि सहयोग गर्ने उनको तर्क छ । कुमारी प्रथाका विरोध गर्नेहरुले कुमारी बन्ने बालिकाहरुको बाल्यकाल र मानवअधिकार खोसिने आरोप लगाउने गरेका छन् ।

चनीरा कुमारी परम्पराको कट्टर समर्थक हुन् । उनलाई आफूले बिताएको असामान्य बाल्यकालप्रति खुसी लाग्छ । ‘ती दिनहरु मेरो जीवनका उत्कृष्ट क्षण थिए । सबैजना मलाई भेट्न आउँथे र मबाट आशीर्वाद लिन चाहन्थे, उनीहरुले धेरै उपहारहरू लिएर आएका हुन्थे । म बिना कतिपय चाडहरु अघि बढ्दैनथे,’ उनले भनिन् ।

उनले कुमारी हुँदा उनको मानवअधिकार हनन् भएको धारणालाई खण्डन गरिन् । ‘देवीका रुपमा कुमारीको जीवन एकदम एक्लो हुने, अरुसँग बोल्न नपाउने, खेल्ने समय नुहने, यहाँसम्मकि म हाँस्न पनि पाउँदिन भन्ने हल्ला व्यापक छ । यी मिथकहरू सुन्दासुन्दा कहिलेकाहीँ त मलाई दिक्क लाग्छ,’ उनले सुनाइन् ।

तर पनि कुमारीको भूमिका सजिलो नभएको उनी आफै पनि स्वीकार्छिन् । कुमारीलाई बिरलै बाहिर जाने अनुमति हुन्छ । वर्षमा डेड दर्जन पटक चाडपर्वमा बाहिर निस्किँदा तिनलाई या पाल्कीमा बोकिन्छ वा कुनै व्यक्तिले बोक्नुपर्छ ।

उनीहरु अपरिचितसँग बोल्दैनन् र सिंहासन रहेको कोठामा हुँदा कोहीसँग पनि बोल्दैनन्, परिवारका सदस्यसँग समेत । बदलामा उनीहरूले ठूलो सम्मान पाउँछन् । इन्द्रजात्रा पर्वमा काठमाडौंकी कुमारी रथमा सवार भएर सहरका गल्लीमा घुमेपछि राज्य शासकहरुको वैधानिकतामाथि मोहर लगाउँछिन्, टीका लगाइदिएर । यो हरेक वर्ष दोहो¥याईन्छ ।

नेपालको शाह वंशको नरसंहार हुनु अघि बज्राचार्यको रुवाईले देशको स्थितिमाथिको प्रतिबिम्ब गरेको मान्यताझै तिनका अन्य भावनाले देशको स्थिति देखाउने भएकाले तिनलाई अनुष्ठानको समयमा सकेसम्म समवेदना व्यक्त नगर्न भनिन्छ ।

सन् २००१ देखि २००८ बीच बज्राचार्य पाटनकी कुमारी रहँदा देशमा ठूलाठूला राजनीतिक परिवर्तन भए । दरबार हत्यादेखि माओवादी विद्रोहको उत्सकर्ससम्म । सन् २००८ मा त नेपालको २४० वर्ष पुरानो राजतन्त्र अन्त्य भएर देश लोकतान्त्रिक गणतन्त्र बनेको थियो ।

सोही वर्ष नेपालको सर्वोच्च अदालतले कुमारी परम्परालाई जोगाउनु पर्ने र साथमा परिमार्जन गर्नुपर्ने फैसला ग¥यो । यसले कुमारीलाई पहिले नै पाएको भत्ता र अवकाश निवृत्तिभरणको अतिरिक्त शैक्षिक भत्ता दिन सरकारलाई आदेश दियो ।

‘पहिले कुमारीहरु पढ्दैनथे । अहिले सबै कुमारीलाई पढ्ने व्यवस्था गरिएको छ,’ काठमाडौंको तलेजु मन्दिरका प्रधान पूजारी उद्धवमान कर्माचार्यले भने । शिक्षाले चनीराको दैवी कर्तव्यमा बाधा नपु¥याएको कर्माचार्यले भने । ‘उनले देवीको भूमिका राम्ररी निभाइन्,’ कर्माचार्यले भने ।

चनीराको जन्म हुनुअघि उनकी आमा चम्पा बज्राचार्यले सपनामा एक पवित्र संकेत पाएकी थिइन् । सपनामा स्वर्गबाट उनको गर्भमा कमलको फूल झरेको थियो । यसबारे बुझ्न उनी एक बौद्ध पूजारीकहाँ गइन्, जसले उनको हुनेवाला बच्चा एक शुद्ध आत्मा हुने र उनले ‘संसारविरुद्ध विद्रोह गर्ने’ बताए ।

जब पाटनमा नयाँ कुमारी छान्ने समय आयो तब त्यहाँका रत्नाकर महाविहार हकबहाल समुदायका १५० परिवारलाई आफ्ना साना नानीहरुलाई छनौट प्रक्रिायामा भाग लिन आमन्त्रित गरियो । प्रधान पूजारीले तान्त्रिक अनुष्ठान गर्दै तलेजुलाई एक जना बच्चामा बस्न आह्वान गरे । एक ज्योतिषीले सबै नानीहरुको जन्मकुण्डली मूल्याङ्कन गरिरहेका थिए ।

‘देवीले जसलाई चुन्छिन्, उनमा त्यसको संकेत देखिन थाल्छ । उनको शरीर गल्न थाल्छ । उनको अनुहार रातो देखिन्छ । त्यहाँ भएका जो कोहीले पनि ती शारीरिक परिवर्तन देख्न सक्छन्,’ चनीराले भनिन् ।

सहभागीमध्ये कसैले केही अस्वीकार्य व्यवहार गरे तत्काल अयोग्य घोषणा गर्छन् । ‘देवीले नचुनेका नानीहरु रुन थाल्छन्, यताउता हिँड्ने, दगुर्ने गर्छन्,’ बज्राचार्यले बताइन् ।

अन्तिमसम्म टिकेका बालिकाहरुको शरीरमा दाग, जन्मचिह्न र अन्य कथित दोषहरू प्रधान पूजारीकी पत्नीले हेर्छिन् । मृगजस्तै आँखा र सिंहजस्तै हृदयसहित ३२ गुणमध्ये सबैभन्दा धेरै गुण भएकी बच्चीलाई नयाँ कुमारी घोषणा गरिन्छ ।

कुमारीहरु प्रायः तिनका आमाबाबुहरुसँग बस्न पाउँदैनन् । सरकारी सुसारेहरुले नै तिनलाई हुर्काउँछन् । तर बज्राचार्यको पालामा भने कुनै विशेष कुमारी घर नहुँदा उनी आफ्नै घरमै बस्नुप¥यो । कुमारीका रुपमा निभाउनुपर्ने दैवी कर्तव्य पूरा गरेपछि उनी पढ्थिन्, आफ्ना समवयीसँग खेल्थिन् । समय समयमा उनी कम्प्युटरमा फिल्म पनि हेर्थिन् ।

कुनै चोटपटक लागेको भए उनको दैवी क्षमतामा असर पर्न सक्थ्यो । यसैलाई मध्यनजर गरेर उनको आमाले छेउको विद्यालयकी एक शिक्षिका घरमै आएर पढाइदिने व्यवस्था मिलाएकी थिइन् । १५ वर्षको उमेरसम्म कुमारी रहेकी बज्राचार्यलाई अहिले पनि पाटनको नेवार समुदायमा सम्मानका साथ हेरिन्छ र उनले आफ्ना उत्तराधिकारी ९ वर्षीय निहिरा बज्राचार्यजस्तै कुमारीहरुलाई परेको समयमा पढाउँछिन् । पाँच वर्षको उमेरमा छानिएकी निहिराकी अभिभावकलाई उनले लगत्तै भेटेर ‘हामीलाई बाँच्नको लागि शिक्षा चाहिन्छ’ भनेर सम्झाएकी थिइन् ।

‘कुमारी भएपछि ठूलो जिम्मेवारी आईपर्छ । तर त्योबाहेक उनी एक सामान्य छोरी पनि हुन्, र उनले आफ्नो दैवी कर्तव्यहरू पूरा गरेपछि पनि जीवन जिउनुपर्ने हुन्छ । उनलाई बाँच्नको लागि आवश्यक पर्ने हरेक सिप चाहिन्छ,’ चनीराले भनिन् । विगतमा कुमारी घर छाडेपछि धेरैले कठिन जीवन बाच्नुपरेको कुरातर्फ उनको संकेत थियो ।

कुमारीबारे सुनिने एक चर्चित मिथक अनुसार कुमारीसँग विवाह गर्र्ने पुरुषको एक वर्षभित्र मृत्यु हुन्छ । यद्यपि धेरै पूर्व कुमारीले विवाह गरेर घरजम गरेका छन् । बज्राचार्यलाई भने यस हल्लाले गर्दा केटाहरु आफूसँग नजिकिन डराएजस्तो लाग्छ । उनका अनुसार उनकै साथीहरूको तुलनामा उनको घरमा विवाहको प्रस्ताव पनि कम आउँछ ।

अहिले उनी अष्ट्रेलियाको होम लोन एक्सपर्ट नामक प्रतिष्ठित कम्पनीको सहायक कम्पनीमा जागिरे छिन् । चनीरा यो स्थानमा आउन सक्नुमा आफ्नो परिवारलाई जस दिन्छिन्, जसले परम्परागत कुमारी जीवनशैलीलाई आधुनिक रुपमा अनुशरण गर्ने योगदान दियो ।

कुमारी रहँदा पनि पढ्न पाएकाले पछि उनका लागि देशको प्रतिष्ठित काठमाडौं विश्वविद्यालयमा व्यावसायिक प्रशासन पढ्ने बाटो खुल्यो ।

उनले काम गर्ने कार्यालयका कतिपय मानिस उनी कुनै समयकी कुमारी भन्नेमा अनभिज्ञ छन् । ‘कुमारीको रूपमा, मलाई धेरै अपरिचितहरुसँग बोल्न पाउँदिनथेँ । अहिले अफिसमा म मुख्यतः विदेशी ग्राहकहरूसँग अन्तरक्रिया गर्ने गर्छु । कुमारी जीवनदेखि अहिलेसम्मको जीवन एक लामो यात्राजस्तो लाग्छ । र मलाई अझै सिक्न धेरै बाँकी छ जस्तो लाग्छ,’ उनले भनिन् ।

भद्र शर्माको सहयोगमा इमिली स्क्मलको आलेख

द न्युयोर्क टाइम्स

Leave a Reply

Your email address will not be published.