काठमाडौंका सडकमा ‘पठाओ’ आतंक

समाचार

काठमाडौं- बिहीबार बिहान ११ बजेतिर बभाङकी अस्मिता धामी नयाँ बानेश्वरमा पुतललीसडक जाने सार्वजनिक यातायात कुरिरहेकी थिइन्। उनले बसलाई कुरेको करिब १० मिनट भएको थियो। यतिकैमा कसैले ‘पठाओ चाहिन्छ, दिदी’ भनेको सुनिन्। मोबाइलमा एकोहोरिएर हेरिरहेकी अस्मिता अपरिचित पुरुषको आवाजले झस्किइन्। उनले पुरुष आवाज आएतिर नजर लगाइन्। अस्मिताले देखिन्, १५० सीसीको पल्सर बाइकमा एक युवक उनलाई ‘पठाओ’ सेवाका लागि सोधिरहेका थिए।

अस्मिताले गाडीलाई कुरेको धेरै समय भएको थियो। काम विशेषले उनलाई पुतलीसडक चाँडै पुग्नु थियो। यतिकैमा उनले ‘पठाओ राइडर’लाई सोधिन्, ‘पुतलीसडकसम्म कति रुपैयाँ लिनुहुन्छ?’ राइडरले एक सय रुपैयाँमा लाग्ने बताए।

अस्मितालाई पनि काममा जान हतार र राइडरलाई ग्राहक चाहिएको थियो। दुवैको सल्लाहमा अस्मिता ‘पठाओ’मा जान तयार भइन्। यात्रा राम्रै भइरहेको थियो। तर, राइडर नयाँ भएकाले उनले बारम्बार पुतलीसडक जाने बाटो सोधिरहँदा अस्मिता झर्को मानिरहेकी थिइन्। र, भनिन्, ‘गुगल म्याप हेर्नु न।’ राइडरले आफूसँग नेट नभएको जवाफ फर्काए।

अस्मितालाई अनौठो लाग्यो र भनिन् ‘नेट नभएको राइडर कस्तो हो, नेट त हुनुपर्ने तपाईंसँग।’ त्यसपछि राइडरले अनलाइनमा ग्राहकले बुक नगरेपछि अफलाइन गुड्ने गरेको बताए। कुरा यतिमै सीमित रहेन। राइडरले पुतलीसडक पु¥याएपछि बार्गेनिङ गर्न थाले, ‘तपाईंले पुतलीसडकसम्म भनेकाले ल्याएँ। यो ठाउँ त पुतलीसडकभन्दा भित्र छ। १२० रुपैयाँ दिनु।’ राइडरले धेरै बोल्न थालेपछि अस्मितालाई पनि झोंक चल्छ, ‘पुतलीसडक भनेपछि के रोडमै हुनुपर्छ ? सडकभन्दा २–३ मिनटभित्र त हो नि। यसलाई पनि त सबैले पुतलीसडक नै भन्छन्। जतिमा भन्नु भएको त्यति दिन्छु। त्यसभन्दा एक रुपैयाँ बढी दिन्नँ।’ यति भनेर अस्मिता एक सय रुपैयाँ राइडरको हातमा थमाएर खुरुखुरु बाटो लागिन्। राइडर भने एक्लै के–के फतफताइरहेका थिए। शायद अस्मितालाई गाली गर्दै थिए !

राजधानीको सार्वजनिक यातायात सहज छैन, गन्तव्यमा पुग्ने गाडी पाउन कि त धेरै समय पर्खिनुपर्छ, कि पाइला राख्ने ठाउँ पाउन पनि मुस्किल बसमा चढ्नुपर्छ। राइड सेयरिङका नाममा राजधानीमा गुडिरहेका ‘मोटरसाइकल ट्याक्सी’ले यसैको मौका छोप्दै आएका छन्। खासमा, अनलाइनमार्फत अर्डर लिएर दिनुपर्ने सेवा यति विकृत बनेको छ कि विगतका ट्याक्सी चालकझैं सडक किनारामा उभिएका मानिसलाई ‘डिस्टर्ब’ गरिरहेका छन्, राइडरहरूले। यात्री नजिक गएर चर्को हर्न बजाउने, आफूसँग जान र्‍याखर्‍याख्ती पार्ने अनि चोकमा भेलाएर सडक नै ढाकेर बस्ने प्रवृत्ति देखिन थालेको छ। यो विकृत रूप सुधार्न ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग कसैलाई चासो छैन।

अफलाइन राइडरको बिगबिगी

जनमानसबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणमा छैन। किनकि, यससम्बन्धी कानून नै आएको छैन, अहिलेसम्म।

नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा ०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन टुटल, पठाओ, इनड्राइभरलगायत आधा दर्जनभन्दा धेरै कम्पनी सञ्चालनमा छन्। तर, यी कम्पनीलाई नियमन गर्ने संयन्त्र राज्यले बनाउन सकेको छैन।

पछिल्लो समय राइड सेयरिङ अनलाइनबाट अफलाइन बनेको छ। अफलाइन राइडर सडकमा कोही उभिएको मान्छे देख्नेबित्तिकै ‘पठाओ, टुटल, इनड्राइभर’ चाहिन्छ भन्दै सोध्छन्। व्यक्ति आ-आफ्नै धुनमा हुन्छन्, अचानक ‘पठाओ, टुटल’ भनेको सुन्दा धेरैले झिँझो मान्न थालेका छन् अचेल। आवश्यक परेको खण्डमा उपभोक्ताले एपमार्फत आफैं राइड बुक गर्छन्। तर ‘राइडर’ले उक्त कुरा बुझेका छैनन् वा बुझेर बुझ पचाएका हुन्, उनीहरुलाई नै थाहा होला।

आफैंलाई घातक अफलाइन राइड

अफलाइन सेवाले राइड सेयरिङ कम्पनीहरुको आयमा असर गर्नुका साथै राइडर र ग्राहकका लागि पनि घातक सावित हुनसक्छ। पछिल्लो समय राइड सेवाप्रतिको जनविश्वास पनि घट्दो छ। पठाओकी प्रवक्ता तथा मार्केटिङ म्यानेजर सुरक्षा हमाल अफलाइन राइड कसैका लागि पनि फाइदाजनक नभएको बताउँछिन्।

उनका अनुसार एपमार्फत सेवा बुक गर्दा यात्राका क्रममा सामान छुट्दा फिर्ता पाइने सुनिश्चित पनि हुन्छ। एपमार्फत सेवा लिँदा यात्रा गरिरहेको सवारीको विवरण, यात्रु र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओ एपमा उपलब्ध हुन्छ। तर, एप छल्न खोजियो भने राइड सुरक्षित हुँदैन, असुरक्षित तवरले गरिएको यात्राका लागि कम्पनीहरू पनि जिम्मेवार रहँदैनन्।

‘कुनै प्रणालीबाट ट्रयाक नहुने गरी मोटरसाइकल र यात्रुले राइड सेवा लिने–दिने प्रवृत्ति मौलाएमा सुरक्षाको सुनिश्चितता गर्न सकिँदैन। यस्तो अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण एप प्रणालीको रेकर्डमा बस्दैन,’ म्यानेजर हमाल भन्छिन्। यसले यात्रु र राइडर दुवैमाथि सुरक्षा संवेदनशीलता बढाउने उनको भनाइ छ।

अफलाइन सेवा लिँदा योजनाबद्ध रूपमा यात्रु बनेर राइडरलाई वा राइडर बनेर यात्रुलाई दुःख दिने, दुर्व्यहार गर्ने र अपहरण, लुटपाटसहित जघन्य अपराधसम्मका घटना भइसकेका छन्। त्यसैले थोरै पैसाको लोभमा अफलाइन राइडरको सेवा नलिन हमाल ग्राहकलाई अनुरोध गर्छिन्।

आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्ने भएकाले अफलाइन राइडरबारे सचेत हुन हमालको आग्रह छ। ‘अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा कम्पनीको प्रणालीमा हुन्छ,’ उनले भनिन्, ‘कुनै समस्या पर्दा सप्रमाण कम्पनी र प्रहरीमा उजुरी दिन सकिन्छ, त्यसका आधारमा पीडकलाई पक्राउ गरेर कारवाही गर्न सहज हुन्छ।’

अफलाइनबाट सेवा लिँदा कुनै दुर्घटना भए राइड सेयरिङ कम्पनीले दिएको बीमा सुविधा पनि लिन पाइँदैन। नेपालमा सबैभन्दा धेरै रायड सेयरिङ सेवा दिइरहेको पठाओले एक लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा १० लाखसम्म बीमाको व्यवस्था गरेको छ।

दर्जनौं राइडर र यात्रुले बीमा सेवाबाट लाभ उठाइसकेका छन्। तर, एप छलेर हुने राइडिङका क्रममा दुर्घटना भएमा बीमाले ‘कभर’ नगर्ने हमालले स्पष्ट पारिन्। हालसम्म डेढ लाख राइडर पठाओमा दर्ता भएका छन्।

छैन नियमन

नेपालमा राइड सेयरिङ सेवा सञ्चालनमा आएको झण्डै सात वर्ष बितिसक्दा पनि सरकारले आवश्यक कानून र नियमन संयन्त्र बनाउन सकेको छैन। सोही कारण विकृति मौलाएको छ।

उपत्यका ट्राफिक प्रहरीका एसपी सञ्जीव शर्मा दासले राइड सेयरिङका राइडर अफलाइन वा अनलाइन के छन् भनेर नियमन गर्ने कुरा प्रहरीको क्षेत्राधिकारभित्र नरहेको बताउँछन्। उनका अनुसार राइडिङमा दुर्घटना हुँदा, कसैले राइडरविरुद्ध उजुरी गरेपछि प्रहरीले त्यसको अनुसन्धान गर्छ। त्यसबाहेक राइडर अफलाइन वा अनलाइन के छन् भनेर प्रहरीले जानकारी पाउने कुनै संयन्त्र उपलब्ध छैन।

दुई वर्षअघि पाटन उच्च अदालतले कानून बनाएर राइड सेयरिङ सञ्चालन गर्न दिन परमादेश जारी गरे पनि सरकारले उक्त आदेश कार्यान्वयन गरेको छैन। कुनै समय रातो नम्बर प्लेटका सवारी साधनले भाडामा यात्रु ओसारपसार गर्न नपाउने भन्दै सरकारले नै रोक लगाउँदै आएको छ। सेयर राइडर सबै रातो नम्बर प्लेटकै हुन्, भाडामा लगाउन मिल्ने सवारी साधन होइनन्।

सरकारले राइड सेयरिङ सेवालाई नियमन र व्यवस्थित गराउन नसक्दा राइड सेयरिङ कम्पनीमा विकृति फैलिन थालेको छ। बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव हरिहर पोखरेलका अनुसार सेयरिङ अफलाइन राइडरलाई नियमन गर्ने कार्यविधि बनाइँदैछ। उक्त कार्यविधिमार्फत राइडरलाई अफलाइन हिँड्न नमिल्ने व्यवस्था गरिनेछ। यसका साथै उक्त कार्यविधिमार्फत एउटा ‘नियन्त्रण मेकानिजम’ ट्राफिक प्रहरीलाई दिने व्यवस्था मिलाउने तयारी रहेको पोखरेल बताउँछन्।

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङका अनुसार अदालतको आदेशअनुसार यातायातको क्षेत्रको नियमन गर्ने अधिकार प्रदेशलाई छ। र, काठमाडौं उपत्यकाको हकमा वागमती प्रदेश सरकारले नै यसको नियमन गर्नुपर्छ।- by रेश्मा सिंह

Leave a Reply

Your email address will not be published.