यति गरिदिए प्रचण्डको पार्टी प्रवेश गर्न बाबुरामले मिनेट पनि नलगाउने !

राजनिति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा काम गरे १० बर्षे जनयुद्धका रोडम्यापकार जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी प्रवेश गर्न मिनेट पनि नलगाउने भएका छन् ।

प्रचण्ड र बाबुरामबीच छलफलको शृङ्खला बढ्दै गएका बेला डा. भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका हुन् । पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् ।

नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको छ ।

माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले बताए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।

अध्यक्ष प्रचण्डका साथमा रहेका केही नेताले पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने भन्दै आइरहेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणी खनाललगायतका नेताहरु पार्टीमा कम्युनिस्ट जोडिएकै हुनुपर्ने पक्षमा छन् ।

बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक भए पनि उनकै साथमा रहेका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ । यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.