यस्तो पो रहेछ आबेको राजकीय सम्मानका साथ अन्त्येष्टिमा जापानमा ठूलो विरोध हुनुको रहस्य !

अन्तराष्ट्रिय समाचार

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सेप्टेम्बर २७ मा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । त्यस अवसरमा विश्वका कैयौँ नेताहरूलाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले आबेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका थिए । तर सरकारको यो निर्णयको प्रतिपक्ष र केही आम जनताले विरोध गरिरहेका छन् । यसलाई रोक्न अदालतमा मुद्दा समेत परेको छ । विपक्षीहरूले आबेको राजनीतिक विचारधारासँग सबै जापानीहरू सहमत नभएको भन्दै करदाताले तिरेको पैसा कुनै नेताको अन्त्येष्टिमा खर्च नहुने तर्क गरेको छ ।

सरकारको तर्कः जापानी सरकारका मुख्य क्याबिनेट सचिव र प्रधानमन्त्री किशिदाका सल्लाहकार हिरोकाजु मात्सुनोले यस निर्णयको प्रतिरक्षा गर्दै भने –‘पारिवारिक रुपमा आबेको अन्तिम संस्कार गत हप्ता भइसकेको छ । अब राज्यले देशको अर्थतन्त्रलाई उचाइमा पुर्‍याउने र अमेरिकासँग मिलेर देशको सुरक्षा मजबुत बनाउने नेताको सम्मान गर्न लागेको हो ।’ मात्सुनोले सन् २०११ मा सुनामीसहित तीनवटा प्रकोपबाट देश प्रभावित हुँदा पनि आबेले देशलाई डगमगाउन नदिएको बताए ।

‘यस्ता महान् नेताको सम्मानमा हामी सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुडोकानमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्दैछौँ । यो कार्यक्रम धेरै सरल हुनेछ । खर्च र अतिथि सूचीपछि जारी गरिनेछ । जुन देशले उनको मृत्युमा शोक व्यक्त गरे, तिनका राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गर्नु आवश्यक छ,’ मात्सुनोले भने ।

विपक्षीहरूको तर्कः विपक्षी र केही नागरिक समूहले राजकीय सम्मानको विरोध गरिरहेका छन् । करदाताले मेहनत गरेर कमाएको पैसा कुनै नेताको अन्त्येष्टिजस्ता संस्कारमा खर्च गर्न नहुने तिनको प्रमुख तर्क छ । विपक्षी दल सोसल डेमोक्र्याटिक पार्टीका प्रमुख मिजुहो फुकुसिमाले आबेको राजनीतिबारेमा जापानको सबै तप्कामा सकारात्मक धारणा नरहेकाले पनि उनको सम्मान दिन नहुने बताए ।

यसै विषयमा २०० जनाले प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरे । विरोध सभालाई सम्बोधन गर्ने क्रममा एक प्रदर्शनकारी आशि शिम्बुनले जबरजस्ती शोक मनाउन जनतालाई दबाब दिनु गलत भएको बताए । यसले आबेका समर्थक र विपक्षीबीचको मतभेदलाई थप गहिरो बनाउने उनले तर्क गरे ।

अदालतमा मुद्दाः बिहीबार टोकियो जिल्ला अदालतमा ५० जनाको एक समूहले नेताहरूलाई दिने राजकीय सम्मानमा प्रतिबन्ध लगाउन माग गर्दै मुद्दा दार गरेका छन् । मुद्दामा राजकीय सम्मानले जनताले तिरेको पैसाको दुरुपयोग हुने र यसबारेमा देशको संविधानमा उल्लेखनभएकाले राज्य प्रायोजित अन्त्येष्टि बन्द गर्नुपर्ने तर्क गरिएको छ ।

विवादबीच सरकारी टेलिभिजन एनएचकेले राजकीय सम्मानका साथ आबेको अन्त्येष्टिलाई लिएर एक सर्वेक्षण नै गर्यो । त्यसमा जम्मा ४९ प्रतिशतले मात्र सरकारी खर्चमा गरिने अन्त्यस्टीको पक्षमा उभिएका थिए ।

सामाजिक सञ्जालमा पनि सरकारको निर्णयको विरोध भइरहेको छन् । एक प्रयोगकर्ताले आबेको चरित्रप्रति नै प्रश्न उठाउँदै लेखेका छन् ,‘ शिन्जो निकै कट्टर राष्ट्रवादी थिए । उनी विपक्षी वा प्रतिपक्षको कुरा सुन्न कहिल्यै तयार भएनन् ।’ अर्का प्रयोगकर्ताले वर्तमान प्रधानमन्त्रीले जनताको असन्तुष्टि सुन्नुपर्ने लेखेका छन् ।

त्यस्तै अर्का एक प्रयोगकर्ताले सरकारले करदाताको पैसा अहिलेको बढ्दो महँगी घटाउन, जनतालाई राहत दिन र कोरोना भाइरससँग लड्न प्रयोग गर्नु उत्तम हुने राय व्यक्त गरेका छन् । दोस्रो विश्वयुद्धपछि जम्मा एक पटक सन् १९६७ मा शिगेरु योशिदाको अन्तिम सस्कार राजनीकि सम्मानका साथ गरिएको छ । उनी प्रधानमन्त्री पनि थिए ।

सामान्यतया, जापानमा शाही परिवार र प्रधानमन्त्रीहरूको अन्त्येष्टिमा राजनीतिक सम्मान वा सरकारी खर्च गरिँदैन । यो परम्पराजस्तै हो । सबै अन्त्येष्टि समारोहहरू निजी रूपमा व्यवस्थित छन् । यही कारण आबेको अन्त्येष्टिको विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.