एसईईको नतिजामा यो बर्ष ‘नन ग्रेडेड’ लागू नहुने

समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ ।निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो ।

तर, कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्ड बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको हो ।

बोर्डले आज सार्वजनिक गर्ने तयारी गरिरहेको शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार गर्ने जनाएको छ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने छ ।

कति नम्बर ल्याउनेलाई कति जीपीए दिइन्छ ?परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ४ दिइनेछ ।

८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ ।त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।

५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिइन्छ र जीपीए २ दशमलव ४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘डी’ प्लस ग्रेड मानिने र जीपीए २ दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ ।

३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published.