टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान, ‘नेपालमा कहाँ छ कति खर्च लाग्छ’ ?

समाचार

काठमाडौं । भनिन्छ– बच्चा भएको घरै उज्यालो हुन्छ। तर, कतिपय घर यस्ता छन्, जो सन्तानहीनताको गहिरो अँध्यारोमा डुबेका हुन्छन्।

सन्तान नहुनुको पीडा र रिक्तताले कैयौँ दम्पती निसासिएका छन्। त्यसमाथि समाजको घोचपेचले उनीहरू आहत भइरहेका हुन्छन्।

अझ सन्तान नजन्माएको निहुँमा महिलाले हिंसाको शिकारसमेत हुनुपरेको छ। तर, चिकित्साविज्ञान निःसन्तान दम्पतीका सपना साकार पारिदिन सक्षम छ। टेस्टट्युब बेबी वरदान सावित भएको छ।

दोष जति महिलालाई
नेपालमा बच्चा जन्माउन नसकेर पीडादायी जीवन व्यतीत गरिरहेका दम्पतीको संख्या ठूलो छ। छिमेकीका आँगनमा खेलिरहे जस्तै सन्तान नहुँदा धेरैको जीवन निरस र श्यामश्वेत हुन पुगेको छ। ग्रामीण भेगमा त कति महिलाले यसैका कारण हिंसा भोगिरहेका छन्।

अनि कतिले सौता बेहोरेका छन्। हरेक दम्पतीले विवाहपछि बच्चाको चाहना राख्छ। बच्चाको जन्मपछि मात्र महिलाले आफूलाई पूर्ण भएको महसुस गर्छिन्। तर, यो सुख सबैलाई मिल्दैन। चाहँदा–चाहँदै पनि बाउआमा बन्ने सपना पूरा हुन सकिरहेको हुँदैन।

चिकित्सकहरूका अनुसार विवाहपश्चात् बच्चा जन्माउन नसक्नुमा पुरुष र महिला दुवैको कमजोरी बराबर हुन्छ। तर कानूनले महिलाबाट बच्चा नभएमा दोस्रो विवाह गर्न पुरुषलाई छुट दिएको छ । यसले समेत महिला जीवनभर पीडामा पिल्सिएर बसेकी हुन्छिन् ।

ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठ प्रधानका अनुसार झन्डै १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुन परिरहेको छ। आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको पाप भन्दै हेलाँ गर्ने चलन छ, प्रधान भन्नुहुन्छ, तर, आजको वैज्ञानिक युगमा विभिन्न प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीले सन्तानको सपना साकार पारेका छन्।ु

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र महिलाले गर्भधारण गर्दिनन् भने त्यस्तो अवस्थालाई निःसन्तानको अवस्था मानिन्छ। नेपाली समाजमा अझै पनि सन्तान हुन नसक्नुमा महिलालाई नै दोष दिने चलन बढी छ ।

उहाँका अनुसार सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार हुन्छन्। सन्तान नहुनुमा पुरुषको ३३, महिलाको ३३ र दुवैको साझा ३३ प्रतिशत दोष रहेको हुन्छ। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ।

निराश हुनु पर्दैन
सामान्यतया महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको लिंगबाट निस्किएको वीर्य महिलाको योनीद्वार हुँदै डिम्बवाहिनी नलीमा पुग्दछ। यसरी पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बवाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ।

डिम्ब र शुक्रकीटको मिलनबाट भ्रूण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ। महिना दिनपछि यस भ्रूणले शिशुको रूप धारण गर्छ। प्रसूतिगृहको निःसन्तान उपचार केन्द्रकी प्रमुख एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँडका अनुसार कहिलेकाहीँ दम्पतीमा खराबी नहुँदा पनि गर्भ रहन कैयौँ वर्ष लाग्नसक्छ।

स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ, उहाँले भन्नुभयो, कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ। उहाँका अनुसार गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो। विवाहित जोडीहरूमा सामान्य समस्याका कारण पनि बच्चा नहुन सक्ने भएकाले पहिला के कारणले बच्चा नहुने समस्या आएको हो त्यो पत्ता लगाउनु आवश्यक हुन्छ।

अहिलेको जमानामा सन्तान नभएको भनेर जीवनभर नै निराश बस्नुपर्ने स्थिति छैन। चिकित्साविज्ञानमा आएको नयाँ प्रविधि र विकासको फड्कोका कारण सन्तान नहुने समस्या भएका धेरैले सन्तान सुख पाउन सकेका छन्। त्यसमध्ये एक हो, टेस्टट्युब बेबी अर्थात् आईभीएफ विधि।

Leave a Reply

Your email address will not be published.