६६ जना बालबालिकाको मृत्यु भारतीय कम्पनीको यी औषधि खाएर

अन्तराष्ट्रिय समाचार

भारतको हरियाणास्थित एक कम्पनीद्वारा उत्पादित रूघाखोकीको औषधि ‘कफ एन्ड कोल्ड सिरप’ खाएर अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको छ।यो घटनापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि उत्पादक कम्पनीका नाममा चेतावनी जारी गरेको बिबिसीले जनाएको छ।

डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससले भनेका छन्, ‘डब्लुएचओले गाम्बियामा फेला परेको चार किसिमका कफ सिरप औषधिलाई लिएर चेतावनी जारी गरेको छ। यो औषधि खाएपछि मिर्गौलामा समस्या देखिनुका साथै ६६ जना बालबालिकाको मृत्यु भएको छ। यो अत्यन्त दुखद घटना हो।’

यी चार किसिमका कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो। बिबिसीका अनुसार डब्लुएचओ र भारतीय औषधि नियमन संस्थाले उक्त कम्पनीमाथि छानबिन गरिरहेको छ।

डब्लुएचओले अन्य मुलुकलाई पनि भारतबाट आयातीत कफ सिरप औषधि जाँच गरेर प्रयोगबाट हटाउन सल्लाह दिएको छ। भारतीय कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी पनि नदिएको डब्लुएचओले दाबी गरेको छ।

डब्लुएचओले शंकास्पद औषधिहरूको नाम पनि सार्वजनिक गरेको छ- प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकआफ बेबी कफ सिरप र मैगरिप एन्ड कोल्ड सिरप।अहिलेसम्म यी औषधि गाम्बियामा मात्र फेला परे पनि अन्य देशमा समेत आपूर्ति भएको हुनसक्ने डब्लुएचओले जनाएको छ।

गाम्बियाका स्वास्थ्य अधिकारीहरूले गत जुलाई महिनामै पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा मिर्गौलाको समस्या बढेको बताएका थिए। यही क्रममा सेप्टेम्बर महिनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो।यो घटनापछि गाम्बिया सरकारले सबै किसिमका पारासिटामोल सिरप प्रयोगमा रोक लगाउँदै त्यसको सट्टा ट्याब्लेट प्रयोग गर्न सल्लाह दिएको थियो।

त्यसपछि गाम्बियाले यो घटनाको सूचना डब्लुएचओलाई दियो। त्यसलगत्तै डब्लुएचओले छानबिन सुरू गरेको थियो।डब्लुएचओले शंकास्पद औषधिको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गरेपछि चार किसिमका औषधिमा अत्यधिक मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल रहेको पुष्टि गरेको बिबिसीले लेखेको छ।

स्वास्थ्य संगठनका अनुसार यी दुवै विषालु पदार्थ हुन् जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन्। यसले पेट दुख्नुका साथै बान्ता आउने, पखाला लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, मानसिक स्थितिमा समस्या आउने र मिर्गौलामा समेत समस्या देखिएर बिरामीको मृत्यु हुनसक्ने डब्लुएचओले जनाएको छ।यसबीच भारतको दिल्लीस्थित केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यो घटनामा अनुसन्धान गर्न आदेश दिएको छ।

यी कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको फेला परेपछि हरियाणाको कुन्डलीस्थित औषधि कारखानामा छापा मारिएको छ।हरियाणा ड्रग कन्ट्रोलर मनमोहन तनेजा नेतृत्वको टिमले कारखानाबाट औषधिको नमूना संकलन गरेको छ। उक्त नमूनाको जाँच जारी छ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले केन्द्र सरकारका अधिकारीहरूले यसबारे सम्पूर्ण जानकारी संकलन गरिरहेको बताएका छन्।कारखानाबाट संकलित नमूना कोलकातास्थित केन्द्रीय औषधि प्रयोगशालामा परीक्षण निम्ति पठाइएको छ। परीक्षण रिपोर्टमा कुनै समस्या भेटियो भने कम्पनीलाई कडा कारबाही गर्ने मन्त्री विजले बताएका छन्।

कम्पनीले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
बिबिसीले कम्पनीको प्रतिक्रिया माग्न इमेल पठाएको थियो जसको जवाफ नआएको बिबिसीले जनाएको छ।
बिबिसीका पत्रकार सत सिंह पनि रिपोर्टिङका लागि औषधि कारखाना गएका थिए। उनले कारखाना बन्द रहेको र त्यहाँ कोही पनि नभएको बताएका छन्।

यो कम्पनीले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा आफ्नो औषधि निर्यात गर्दै आएको छ। यी औषधि भारतीय बजारमा पाइन्छन् कि पाइँदैनन् भन्ने अहिलेसम्म यकिन हुन नसकेको बिबिसीले लेखेको छ।

समाचार एजेन्सी एएनआईले अल इन्डिया केमिस्ट एन्ड डिस्ट्रिब्युटर्सलाई उद्धृत गर्दै उक्त कम्पनीले भारतीय बजारमा आफ्नो औषधि आपूर्ति नगरेको जनाएको छ। कम्पनीले ती औषधि निर्यात मात्र गर्दै आएको एएनआईले लेखेको छ।

बिबिसीका अनुसार बीसौं शताब्दीमा पनि डाइथिलिन ग्लाइकोलको मिसावटले धेरै दुर्घटना भएका थिए।
सन् १९३७ मा अमेरिकामा उत्पादित एक औषधिमा यो पदार्थ प्रयोग गरिएको थियो। त्यति बेला उक्त औषधि खाएर सय जनाभन्दा बढी बिरामीको मृत्यु भएको थियो जसमा धेरैजसो बालबालिका थिए। ती बालबालिकालाई रूघाखोकीको उपचार गर्न उक्त औषधि दिइएको थियो।

उक्त घटनापछि नै सन् १९३८ मा फुड, ड्रग एन्ड कस्मेटिक्स कानुन बनाइएको बिबिसीले लेखेको छ।यसबीच बिबिसी संवाददाता मानसी दासले दिल्लीस्थित मौलाना आजाद मेडिकल कलेज अस्पतालका प्राध्यापक तथा कम्युनिटी मेडिसिनका निर्देशिका डाक्टर सुनीला गर्गसँग कुरा गरेकी छन्।

बिबिसीसँगको कुराकानीमा डाक्टर गर्गले भनेकी छन्, ‘यो केमिकल मान्छेको शरीरमा प्रवेश गरेपछि पेट दुख्नुका साथै बान्ता आउने, झाडापखाला लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, मानसिक स्थितिमा समस्या आउने र मिर्गौलामा समस्या आउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्छ।

डाक्टर गर्गले यस सम्बन्धमा गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्। उक्त औषधि बनाउँदा ती केमिकल प्रयोग गर्न स्वीकृति लिइएको थियो कि थिएन र थियो भने मापदण्ड पालना गरिएको थियो कि थिएन भन्नेबारे छानबिन हुनुपर्ने उनले बिबिसीलाई बताएकी छन्।डाक्टर गर्गका अनुसार यी औषधि रूघाखोकीका अन्य औषधिको दाँजोमा सस्ता छन्

Leave a Reply

Your email address will not be published.