निरु ढुंगाना नेपाली सेनाकी एकमात्र महिला पाइलट, यसरी सम्भव भयो यो सफलता

समाचार

काठमाडौं । निरु ढुंगाना सानैदेखि आकाशमा उड्न चाहाना राख्नुहुन्थ्यो । त्यसका लागि उहाँलाई पाइलट नै बन्नु थियो। उहाँका शिक्षक बुबाले पनि निरुको चाहाना पछ्याउन भरपुर साथ दिनुभयो ।

उहाँ पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुग्नुभयो । टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति हुनुभयो । त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आउनुभएको छ । उहाँ सेनाकी मेजर (सेनानी) पदमा कार्यरत हुनुहुन्छ ।

‘मेरो परिवारमा नेपाली सेनामा कोही पनि हुनुहुन्थेन। हाम्रो परिवारबाट सेनामा जाने म नै पहिलो व्यक्ति हो’, निरुले भन्नुभयो ।

झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ५ हजार महिला छन्। सेनासँग अहिले ४३ पाइलट छन्। तर निरु सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुनुहुन्छ ।

‘नेपाली सेनाले महिला अफिसरहरु २०६२ साल देखि नै लिन सुरु गरेको हो। निजी र सरकारी क्षेत्रका एयरलाइन्सहरुमा पनि पहिला देखि नै महिला पाइलट छन्’ निरुले भन्नुभयो, तर नेपाली सेनामा भने मैले पहिलो पाइलट बन्ने मौका पाएँ।’

निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्नुहुन्छ । नेपालको डाडाकाँडा, नेभिगेसन सिस्टमको अभाव र बदली भैरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।

‘तराई क्षेत्रमा जहाज उडाउन तुलनात्मक रुपमा सहज छ’, निरु भन्नुहुन्छ । त्यसो त उहाँका श्रीमान् सरोज थापा पनि सेनामै हुनुहुन्छ । सरोज हेलिकप्टरका उडान इन्जिनियर हुनुहुन्छ ।

निरुलाई आकाशमा उड्न परिवारको साथ छ।’एउटै अफिसमा छौँ, त्यसैले कुरा पनि मिल्छ। अरु भएको भए बुझ्न र बुझाउन गाह्रो हुन सक्थ्यो चुनौति लिन चाहने र ग्ल्यामर्स पेशा रोज्न चाहानेहरुलाई पाइलट र सेनामा आउन उहाँको आग्रह छ।

Leave a Reply

Your email address will not be published.