काठमाडौँ । एक असल जीवनसाथीको आशा जो कोहीमा हुन्छ । तर, असल जीवनसाथी सबैलाई प्राप्त हुँदैन । मान्छे एक असल जीवनसाथी पाउँदा निकै खुशी हुन्छन् भने आफूलाई भाग्यमानी पनि ठान्छन् ।
हुन त सम्बन्धलाई सुमधुर बनाउने जिम्मा स्वयम् मान्छेको हातमा हुन्छ । मान्छेले बैवाहिक सम्बन्धलाई सुमधुर बनाउन जाने जीवनमा निकै खुशी प्राप्त गर्छ । त्यसैले सधै लोग्नेस्वास्नीको सम्बन्धमा सुमधुरता कायम गरिराख्नुपर्छ ।
कतिपय मान्छेको जीवनमा बिवाहको केही वर्षमै तनाव सुरु हुनथाल्छ । कतिपय सम्बन्ध त विचलनको अवस्थामा पुगेर सम्बन्ध विक्षेद नै हुन्छ । त्यसैले जीवनमा दरार ल्याउने यी पाँच गल्ती कहिले पनि गर्नुहुँदैन ।
समाजको दखल
कहिले पनि आफ्नो जीवनसाथीको बारेमा साथी, आफन्तलगायत कसैसँग पनि नराम्रो कुरा गर्नु हुँदैन । किनकी यसरी जीवनसाथीले नै नराम्रो कुरा गर्दा अरुले उसप्रति हेर्ने व्यवहार परिवर्तन हुन्छ । जसले गर्दा समाजले पनि उसलाई नराम्रो नजरमा हेर्नेगर्छ ।
यसरी आफैले नराम्रो कुरा गर्दा अरुले पनि त्यसमाथी थप राम्रा कुरा सुनाइदिन्छन् र अरुका कुरा सुनेर सम्बन्धमा दरार आउने खतरा हुन्छ । त्यसैले सधै सम्बन्धलाई सन्तुलन राख्नुपर्छ र घर भित्रका कुरा बाहिर ल्याउने चेष्टा गर्नु हुँदैन ।
एक अर्काको गल्ती खोज्ने प्रवृति
लाग्नेस्वास्नी बीच झगडा हुनु सामान्य कुरा हो । तर, सधै झगडा गरेर पुरानो झगडामा भएका कुरालाई कोट्याउँदै उग्र रुप लिनु भने राम्रो होइन । झगडा हुन्जेलको कुरालाई भुलेर पछि सुमधुर सम्बन्ध बनाउनु पर्छ । मनमा इगो साँध्नु हुँदैन । यसले सम्बन्धलाई सुमधुर बनाउँदैन । त्यसैले सामान्य कुरामा झगडा गर्दै अल्झिनु भन्दा सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु बुद्धिमानी मानिन्छ ।
नबाँझिने
एक जनालाई झगडा गर्ने मुड हुँदा अर्को व्यक्तिे शान्त वस्दा कहिले पनि सम्बन्धमा तिक्ता आउँदैन । त्यसैले कहिले काँही कुनै एक जनाले गाली गर्दा अर्कोले स्वीकारेर मौन बस्नु नै बुद्धिमानी हुन्छ । तर, धेरै बेरसम्म मौन बस्नु हुँदैन । विस्तारै रिषाएको व्यक्तिलाई खुशी मुडमा ल्याउनु पर्छ । यदि एक अर्कासँग बोल्न नै छोड्ने हो भने यसले सम्बन्धमा दरार ल्याउन थप भूमिका खेल्छ ।
आमाबुवाको बारेमा खराब नबोल्ने
कसैलाई पनि आफ्नो आमाबुवाको बारेमा कुरा काटेको मन पर्दैन । त्यसैले सम्बन्धलाई सधै सुमधुर बनाइराख्न मन छ भने एक अर्काका अभिभावकको सधै सम्मान गर्नुपर्छ ।
अरुसँग तुलना नगर्ने
कहिले पनि आफ्नो जीवनसाथीको तुलना अरुसँग गर्नु हुँदैन । किनकी तपाइलाई सधै साथ र खुशी दिने उसैले नै हो । अरु जतिसुकै सुन्दर र राम्रा भए पनि तपाइलाई काम लाग्ने होइन । त्यसैले सधै आफ्नो जीवनसाथीको तारिफ गर्नुपर्छ । जीवनसाथीको इच्छालाई ध्यान दिनुपर्छ । तर, अरुसँग तुलना गरेर यस्तो उस्तो भनेर खोट देखाउँनु हुँदैन ।