कुनै पनि महिला/बालिका यौन दुर्व्यवहारमा परेपछि शारीरिक, मानसिक, भावनात्मक र मनोवैज्ञानिक असरबाट गुज्रिन सक्छन् । यौन दुर्व्यवहारको आघातबाट बाँचेकाहरूलाई पर्ने असरबारे हामी जानकार छैनौँ या जानेर पनि नजाने झैँ गर्छौँ ।
नेपालमा यौन दुर्व्यवहार तथा बलात्कारका घटनाहरू दिनानुदिन बढिरहेका छन् । पीडामा परेकाहरूलाई साथ दिएर कानुनी बाटोसम्म पुर्याउनुको साटो हामी उनी र उनको परिवारलाई नै मानसिक तनाव दिन थाल्छौँ । यस्तो कुरा गोप्य राख्न नै सुझाव दिन्छौँ ।
यौन दुर्व्यवहारका पीडितहरूलाई उनीहरूको पीडा कम हुने तथा अपराधीलाई कानुनी दायरासम्म पुर्याउने लगायतका प्रभावकारी उपायहरू अपनाउन तपाईँ हामीले सहयोग गर्नुपर्छ । उनीहरूलाई दुर्व्यवहारको रिपोर्ट गर्ने, कानुनी कारबाही गर्ने र उपचार खोज्ने कुरामा उनीहरूलाई आफ्नै निर्णयहरू गर्न सशक्त बनाउन हामीले मद्दत गर्नुपर्ने हुन्छ ।
यी छ चरणहरू, जसले पीडितहरूलाई सहयोग पुग्दछ :
१. आफू सुरक्षित हुनुहोस् ।
यौन दुर्व्यवहारमा परिसकेपछि पीडितहरूलाई समाजमा हिँडडुल गर्न एकदमै गाह्रो अवस्था छ । हाम्रो देशमा त झन् सेलिब्रेटी तथा समाजका लब्ध प्रतष्ठित व्यक्तिहरू सामेल भएको मुद्दामा पीडितलाई गाली गरिन्छ । उनीहरूलाई अनेक लाञ्छना लगाएर लुकेर हिँड्न बाध्य पार्छौँ ।
तसर्थ, पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले पीडितको सुरक्षा र कल्याणलाई प्राथमिकता दिनुपर्छ । दुर्व्यवहारपछि मानसिक रुपमा गम्भिर असर पर्दछ, जसले गर्दा उनीहरू आफूलाई सम्हाल्न सक्दैनन् ।
सुरक्षा र सामान्यताको भावना स्थापित गर्न तथा भोलिका दिनहरूमा ठुला तनावहरूको सामना गर्दा सहज महसुस गर्न नजिकको साथी वा परिवारको भरपर्दो सदस्यलाई बोलाएर आफ्ना कुराहरू शेयर गर्नु पर्दछ । जसले गर्दा कानुनी बाटो समाउन सहज हुन्छ ।
२. विश्वासिलो व्यक्तिको राय लिनुहोस् ।
शारीरिक रूपमा सुरक्षित महसुस गरेपछि समर्थनका लागि आफूले विश्वास गरेको व्यक्तिलाई सम्पर्क गर्नुपर्दछ । यौन आघातमा परेका पीडितहरू डिप्रेसनमा जान सक्छन् । तसर्थ, आफूमाथि दुर्व्यवहार भयो भने आफूले पूर्ण रूपमा विश्वास गरेको व्यक्तिलाई त्यसबारे जानकारी गराएर राय सल्लाह लिनुपर्ने हुन्छ ।
यस्तो अवस्थामा ‘ला तिम्रो त जीवन नै बरबाद भयो, तिमी अब बाँचेर काम छैन भन्ने तथा गलत बाटोमा हिँडाउन प्रेरित गर्नुहुँदैन । उनीहरूलाई हौसला दिनुका साथै, महिला आयोगको हेल्प लाइन सेवा ११४५ मा सम्पर्क गर्ने, प्रहरीमा उजुरी गर्न प्रेरित गर्नुपर्छ ।
३. स्वास्थ्यकर्मी भेट्नुस्
यौन दुर्व्यवहारपछि के गर्ने, के नगर्ने भनेर धेरैलाई थाहा हुँदैन । मानसिक रूपमा विक्षिप्त भएपछि उनीहरूलाई अस्पताल जानुपर्छ भन्ने ज्ञान नहुन सक्छ । तसर्थ, उनीहरूले तपाईँलाई समस्या सेयर गरेका छन् भनेर उनीहरूलाई अस्पताल जान प्रेरित गर्नुपर्छ । उनीहरूको शारीरिक, मनोवैज्ञानिक र भावनात्मक आवश्यकताहरूलाई ख्याल गरेर स्वास्थ्यकर्मीसँग भेट गर्नुपर्छ ।
दुर्व्यवहारमा परेपछि (OCMCR) एक द्वार सङ्कट व्यवस्थापन केन्द्र, अस्पताल वा मेडिकल सेन्टरमा जानु धेरै कारणहरूका लागि लाभदायक हुनसक्छ।
सबैभन्दा महत्त्वपूर्ण रूपमा, स्वास्थ्य हेरचाह चिकित्सकहरूले शारीरिक चोटको उपचार गर्न सक्छन् र, तपाईँको यौन र शारीरिक स्वास्थ्य सुनिश्चित गर्न मद्दत गर्न सक्छन्। तिनीहरूले यौन दुर्व्यवहारको फरेन्सिक परीक्षण जुन DNA, रगतको नमुनाहरू र अन्य प्रमाणहरू सङ्कलन गर्न मद्दत पुग्दछ ।
यदि सम्भव छ भने, परीक्षण दिन छनौट गर्ने पीडितहरूलाई बलात्कार कीट पूरा गर्नुअघि नुहाउन, कपाल नकोर्न, शौचालय प्रयोग गर्न वा लुगा परिवर्तन नगर्न प्रोत्साहित गर्नुपर्दछ ।
४. आफूमाथि भरोसा गर्नुहोस् ।
यौन दुर्व्यवहार तथा बलात्कारको पीडा निको पार्ने कुनै पनि औषधी हुँदैन । तर, तपाईँको साहस र आत्मविश्वासले तपाईँलाई अगाडि बढ्न प्रेरित गर्छ । तपाईँ नडराउनुस्, मैले नै गल्ती गरेको हो कि ? भन्ने प्रश्न मनबाट हटाइदिनुस् ।
हिँड्ने वा ध्यान गर्ने गर्नुस्, जसले गर्दा तपाईको मन केही शान्त हुनसक्छ ।
प्रत्येक पीडितहरूलाई थेरापीको आवश्यकता पर्दैन, केहीलाई भने थेरापीको आवश्यक हुनसक्छ । धेरै पीडितहरूमा ‘के यो मेरो गल्ती थियो? के यो वास्तवमा सहमतिमा थियो? लगायतका भावनाहरू मनमा आउन सक्छ ।
५. कानुनी विकल्पहरू खोज्नुस्
यौन जस्तो जघन्य अपराधमा परेकाहरू आफ्नो कुरा निर्धक्कसँग राख्न सक्दैनन् । उनीहरू डराउँछन् । प्रहरीमा रिपोर्ट गर्ने र दुराचारीलाई कारबाही गर्नुपर्छ भन्ने कुरा समेत उनीहरूले सोच्न सक्दैनन् या परिवार/आफन्त तथा साथीभाइको कुरा सुनेर उनीहरू उजुरी गर्न चाहँदैनन् ।
प्रहरीमा उजुरी नगरेर के गर्ने त भनेर उनीहरू अन्योलमा हुन्छन् । पीडक पक्षले विभिन्न धम्की तथा प्रलोभनमा पारेर उजुरी नगर्न दबाब पनि दिन सक्छन्, जसले गर्दा उनीहरू अन्योलमा हुन्छन् ।
पीडितहरू प्रायः चिन्ता, लाज र अरूले के सोच्छन् भन्ने डरले ग्रसित हुन्छन्। रिपोर्ट दर्ता गरेर, कानून प्रवर्तन अधिकारीहरूसँग कुरा गरेर र सम्भवतः अदालतमा अपराधी विरुद्ध जाहेरी दिएर उनीहरूको आघातबाट मुक्त हुने सम्भावनाले पनि पीडितहरूलाई अगाडि आउनबाट रोक्न सक्छ।
६. पुरानो लयमा फर्कने प्रयास गर्नुहोस् ।
तपाईँ माथि दुर्व्यवहार भएको हो । यसमा तपाईँको केही पनि गल्ती छैन । आपराधिक मानसिकता भएको/अपराध गरेको ब्यक्ती खुल्लम खुल्ला हिँड्न सक्छ भने तपाईँ लुकेर या डराएर हिँड्नुपर्दैन ।
यौन दुर्व्यवहार तथा बलात्कारपछि तपाईँले बेवास्ता गरेका गतिविधिहरू र सामाजिक यात्राहरूका बारेमा सोच्नुहोस् । साथीभाइ भेट्ने तथा व्यायाम योगा, पढाइ जस्ता कार्यहरूमा निरन्तरता दिनुहोस् ।
यस चरणमा थेरापी गर्नुहोस्, जसले डर कम गर्न, सकारात्मक मनोवैज्ञानिक, भावनात्मक र सामाजिक लाभहरू प्राप्त गर्न सक्छ। तपाईँले के भोग्नु भएको छ भन्ने कुरा बुझ्ने समुदायको समर्थन पाउनु तपाईँको दीर्घकालीन रिकभरीका लागि महत्त्वपूर्ण कारक हुन सक्छ। तसर्थ, हामी पीडितहरूको समर्थनमा उभिऔँ । उनीहरूलाई त्यो अवस्थाबाट बाहिर निस्कन सहयोग गरौँ ।
जेसिका केलेन सँगको कुराकानीमा आधारित रहेर लेखिएको यस लेखलाई नेपाली परिवेसअनुसार संशोधनसहित अनुवाद गरिएको हो ।
केटिएम दैनिकले प्रत्येक वर्ष फेब्ररी ७ देखि १४ सम्म बलात्कार बिरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । माथि उल्लेखित फिचर वर्ष ३ को दोस्रो समाचार हो ।
नोट: यसमा प्रयोग गरिएको तस्बिर Pixabay बाट लिइएको एक प्रतिनिधिमुलक स्केच मात्र हो ।
केटिएम दैनिक बाट साभार