रवि उक्लिए पहिलो स्थानमा, काँग्रेस र एमाले पछि पछि

राजनिति समाचार

चितवन- चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । त्यस्तै लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंह काठमाडौँ १ बाट लगातार चौथो पटक विजयी -काठमाडौँ-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो ।

विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहनुभयो । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्नुहुन्छ ।

सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो । सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो । मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.