पोखरा । पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट युवतीको मृत्यु भएको छ ।
पोखराको बुद्धचोकबाट पृथ्वीचोक आउँदै ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
करिब ९ बजे भएको घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
पृथ्वीचोकको चाइनापुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फागुन १ गते सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
बागमती प्रदेशको गत माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सोही अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गरेको मन्त्रालयका प्रवक्ता एवम् उपसचिव अनुशील सापकोटाले जानकारी दिए ।