काठमाडौं -महानगरपालिकामा कार्यरत नगर प्रहरी संख्या वृद्धि गरिएको छ । महानगरपालिकाले निजी सेक्युरिटी कम्पनी ‘युनिक सेक्युरिटी’मार्फत एक सय ६२ जना नगर प्रहरी अस्थायी रूपमा थप गरेको हो ।
सक्रिय जनशक्ति थप गरेका हौँ : राजुनाथ पाण्डे, नगर प्रहरी प्रमुख, कामपा – ‘हामीले महानगरको सुरक्षामा आवश्यक सुरक्षाकर्मी निजी कम्पनीमार्फत थप गरेका छौँ । सयजना कम्पनीले पठाइसकेको छ । बाँकी ६२ जना तोकिएको मापदण्डअनुसार अझै पठाएको छैन । महानगरमा खट्न सक्ने जनशक्ति हामीले माग गरेका हौँ ।’
नगर प्रहरी संख्या कम भएकाले महानगरभित्र काम गर्न कठिन भएपछि महानगर प्रमुख बालेन्द्र साहले हाललाई अस्थायी रूपमा नगर प्रहरी थप गरेका हुन् । भूपू सेना तथा प्रहरीलाई निजी कम्पनीमार्फत नगर प्रहरीका रूपमा राखिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार सयजना कम्पनीले पठाइसकेको र उनीहरूलाई फिल्डमा समेत खटाउन थालिएको छ । ६२ जना भने कम्पनीले अझै नपठाएको पाण्डेले बताए । ‘माग र मापदण्डअनुसार कम्पनीले केही संख्यामा नगर प्रहरी पठायो, तर ६२ जना अझै पठाउन बाँकी छ,’ उनले भने, ‘तोकेअनुसारको मापदण्डभित्र नरहेका व्यक्ति पठाउन खोजेपछि हामीले केहीलाई फर्काएका पनि छौँ ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालका भूतपूर्व सुरक्षाकर्मीलाई सेक्युरिटीका रूपमा पठाउन सेक्युरिटी कम्पनी र महानगरबीच सहमति भएको थियो । सहमतिअनुसार पुरुषको हकमा ४० वर्ष नकटेको र महिलाको हकमा ४५ वर्ष नकटेको तोकिएको छ । तर, कम्पनीले सयजना मागअनुसार पठाए पनि अन्य तोकिएभन्दा फरक पठाउन खोजेपछि रोकेको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ ।
नगर प्रहरीका लागि तलब तथा अन्य सेवा–सुविधा महानगरले नै उपलब्ध गराउनेछ । उनीहरूले नगर प्रहरी जवानलाई दिइनेसरह तलब सुविधा पाउनेछन् । महानगरले उनीहरूलाई मासिक २० हजार सात सय तलब, वार्षिक १३ हजार पोसाक भत्ता र रासन तथा आवास दिने सम्झौता गरेको छ । उनीहरूलाई दिने यो तलब सुविधा सामान्य सेक्युरिटीलाई दिने भन्दा धेरै हो ।
तीन सय ३३ पुग्दै नगर प्रहरी
काठमाडौं महानगरमा हाल स्थायी नगर प्रहरी एक सय ७१ जना छन् । यसमध्ये पनि सक्रिय रूपमा खट्न सक्ने निकै कम छन् । यही कारण महानगरले एक सय ६२ जना अस्थायी नगर प्रहरी थप्न लागेको हो । यो पक्रिया पूरा भएपछि नगर प्रहरी संख्या तीन सय ३३ पुग्नेछ ।
काठमाडौं महानगरअन्तर्गतको प्रहरी विभिन्न चार युनिटमा विभाजित छ । टेकु, मीनभवन, बागदरबार, कपनबाट नगर प्रहरीले क्षेत्रअनुसार काम गर्छ । क्षेत्र छुट्याएर नगर प्रहरी परिचालन गर्दा संख्या निकै कम भएको भन्दै अस्थायी रूपमा तत्कालका लागि नयाँ प्रहरी भर्ना गरिएको हो ।
नगर प्रहरीका रूपमा राखिएका सेक्युरिटीलाई अन्य नगर प्रहरीसरह नै खटाइनेछ । खासगरी काठमाडौं महानगरभित्र रहेका भित्री गल्लीहरू र चोकमा नगर प्रहरी परिचालन गर्न संख्या अपुग भएपछि महानगरले तत्कालका लागि निजी कम्पनीमार्फत नगर प्र्रहरी थप गरेको हो ।गत वैशाखमा भएको स्थानीय निर्वाचनमा निर्वाचित कामपाका मेयर साहले नगर प्रहरी र उसको भूमिका सच्याउन कमान्डर चेन्ज गरेका थिए ।
यसअघिका नेतृत्व डिएसपी धनपति सापकोटालाई हटाएर उनीसँगै भर्ना भएका डिएसपी राजुनाथ पाण्डेलाई एसपीमा बढुवा गरेर नगर प्रहरीको जिम्मा दिएका थिए । पाण्डेले नेतृत्व सम्हालेपछि नगर प्रहरीले थप कडाइ गर्न थालेको थियो ।
नगर प्रहरीलाई कुट्नेमाथि नेपाल प्रहरीले अघि बढाएन कारबाही
– महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्– खुलेआम हिँडेकालाई पनि नेपाल प्रहरीले समातेन– परिसर प्रवक्ता एसपी दिनेश मैनाली भन्छन्– आक्रमण गर्नेलाई खोजिरहेका छौँ
नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेविरुद्ध कारबाही माग गर्दै काठमाडौं महानगरपालिकाले दिएको किटानी जाहेरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बेवास्ता गरेको छ । आक्रमण गर्ने व्यक्तिको विवरणसहित १३ मंसिरमा जाहेरी दर्ता गरे पनि परिसरले हालसम्म पक्राउ गरेको छैन ।
नगर प्रहरीमाथि आक्रमण गर्ने आठजनाको विवरण जाहेरीमा खुलाएको छ । तर, आक्रमण गर्नेविरुद्ध नेपाल प्रहरीले कारबाही कदम अघि नबढाएको महानगरको आरोप छ । महानगरका प्रवक्ता नवीन मानन्धरले नेपाल प्रहरीले नगर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको बताए । ‘हामीले तत्काल कारबाही हुनुपर्छ भनेर माग गरेका थियौँ,’ उनले भने, ‘तर, नेपाल प्रहरीले जाहेरीउपर कुनै एक्सन लिएको छैन ।’
उनका अनुसार थापाथलीस्थित सुकुमबासीले अनधिकृत रूपमा ओगटेका टहरा भत्काउन १२ मंसिरमा महानगरले नगर प्रहरी खटाइएको थियो । सोही क्रममा टहरोमा बस्दै आएका व्यक्तिहरूले नगर प्रहरीलाई ढुंगामुढा र हातपात गरेका थिए । सो क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । आक्रमणबाट गम्भीर घाइते सर्मिला बोगटी, झरना विक र विष्णा ढुंगानाको नर्भिक अस्पतालमा उपचार जारी छ ।
सो आक्रमणमा सहभागी राजु तामाङ, दीपकजंग कुँवर, नारायण परिश्रमी, हुकुमबहादुर लामालगायत आठविरुद्ध कारबाही माग गरिएको थियो । तर, विवरण खुलाउँदासमेत प्रहरीले उनीहरूमाथि कारबाही अघि बढाएको छैन ।
परिसरका प्रवक्ता दिनेशराज मैनालीले जाहेरीमाथि काम गरिरहेको जानकारी दिए । उनले भने, ‘हामीकहाँ जाहेरी परेपछि अनुसन्धान भइरहेको छ, कोही पक्राउ परेका छैनन् ।’ जाहेरीमा नाम समावेश भएकामाथि जोहरी दर्तालगत्तै अनुसन्धान भइरहेको उनको दाबी छ ।
तर, काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले खुलेयाम हिँडिरहेकालाई पनि नेपाल प्रहरीले समाउन नसकेको बताए । ‘हामीले कारबाही माग गर्दै दिएको जाहेरीमा नेपाल प्रहरीले चासो दिएन,’ उनले भने, ‘खुलेयाम हिँडेकालाई फरार भनेर टारिरहेको छ ।’
सुकुमबासी हटाउने अभियानबाट पछि हट्यो नगर प्रहरी
सांघातिक आक्रमणपछि सुकुमबासी हटाउने अभियानबाट काठमाडौं महानगर पछि हटेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको आग्रहपछि नगर प्रहरी अतिक्रमित संरचना हटाउन १२ मंसिरमा थापाथली क्षेत्रमा पुगेको थियो । विनासूचना आफूहरूलाई हटाउन खोजेको भन्दै टहरामा बस्दै आएकाहरू आक्रमणमा उत्रिएका थिए । संरचना हटाउन गएको नगर प्रहरी आक्रमणमा परेपछि फर्किएको थियो ।
तर, अब त्यस क्षेत्रका संरचना हटाउन नेपाल प्रहरी र अन्य निकायको साथ चाहिने महानगरका प्रवक्ता मानन्धरले बताए । ‘महानगर प्रहरीसँग ठूलो दलबल हुँदैन, यस्तो अभियानमा नेपाल प्रहरीलगायतका निकायको साथ चाहिन्छ,’ उनले भने,
‘तर, अन्य निकायले साथ दिएका छैनन् ।’ उनका अनुसार ती संरचना हटाउने विषयमा छलफल भने भइरहेको छ । तर, नगर प्रहरीमाथि आक्रमण हुने हुँदा नेपाल प्रहरीको सहयोग माग गरिएको छ ।