बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) को कुप डे फ्रान्सको मार्सेली विरुद्धको खेलमा लियोनल मेस्सीले १० नम्बरको जर्सी लगाएको देखेपछि धेरै प्रशंसकहरू आश्चर्यचकित भएका हुन सक्छन्।

फ्रेन्च च्याम्पियनले बुधबार लिग वान प्रतिद्वन्द्वी मार्सेलसँग कुप डे फ्रान्स राउन्ड अफ १६ मा खेलेको थियो। उक्त खेलका लागि मैदानमा उतारिएको सुरुवाती ११ मा लियोनल मेस्सी र नेयमार जुनियर जस्ता खेलाडीको उपस्थिति भए पनि खेलमा पीएसजीले २–१ ले हार बेहोरेको थियो।

पहिलो हाफमा मार्सेलका लागि एलेक्सिस सान्चेजले गोल गर्दै अग्रता दिलाए पनि हाफ हुन केही समयअघि मात्र सर्जियो रामोसले लेस पेरिसियन्सका लागि बराबरी गरेका थिए। तर पीएसजीले त्यसपछि खेलमा पकड जमाउँन नसक्दा अन्ततः रुस्लान मालिनोव्स्कीले मार्सेलका लागि विजयी गोल गरे।

यसका साथै वर्तामान लिग १ विजेता लगातार दोस्रो वर्ष फ्रेन्च कपको अन्तिम १६ बाट बाहिरिएको छ। बुधबारको हार बाहेक उक्त खेलमा मेस्सीको जर्सी नम्बर पनि निकै चर्चाको विषय बनेको छ। पीएसजी सामेल भए देखि जर्सी नम्बर ३० लगाउँदै आएका मेस्सीले मार्सेल विरुद्धको खेलमा पनि प्रसिद्ध १० नम्बर लगाएका थिए।

मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीका लागि लगाएको कारणले पनि अझै पनि धेरै हदसम्म नम्बर १० जर्सीसँग उनी सम्बन्धित छन्। उनले ला लिगा दिग्गज बार्सिलोनासँगको आफ्नो २१ वर्ष लामो कार्यकालको लामो समय १० नम्बर जर्सी नै लगाएर खेलेका थिए।

तर, सन २०२१ मा बार्सिलोना छाडेर पीएसजीमा सामेल भएदेखि उनी क्लब स्तरमा जर्सी नम्बर ३० मा देखिँदै आएका छन्। बार्सिलोनाका आफ्ना पूर्व सहकर्मी नेयमारले पीएसजीमा पहिले नै १० नम्बर जर्सी लिएको हुँदा पनि उनी जर्सी नम्बर ३० रोज्न बाध्य भएका थिए।

७ पटकका बालोन डी’ ओर विजेताले पेरिसमा आफ्नो समयमा कुनै गुनासो बिना नम्बर ३० जर्सी लगाएपनि दुई पटक भने १० नम्बर जर्सी लगाएका छन्। दुबै पटक कुप डे फ्रान्सको खेलमा उनले यसो गरेका हुन्।

मेस्सीले बुधबारको खेलमा जर्सी नम्बर १० लगाउनुको कारण उक्त प्रतियोगिताको नियमले शुरुवाती ११ का खेलाडीहरूले एक देखि ११ सम्मको जर्सी लगाउन अनिवार्य गरेको छ। त्यसैले, मेस्सीले मार्सेली विरुद्ध नम्बर ३० लगाउन नपाउँदा अस्थायी रूपमा नम्बर १० लगाएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *