काठमाडौं । नेकपा माओवादीका नेता तथा प्रदेश – प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले राष्ट्रपति एमाले अध्यक्ष केपी शर्मा ओली र पाँच वर्षकै लागि प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता आङ्वोले सामाजिक संजालमा स्टाटस लेख्दै पुस १० को सहमतिलाई नै कार्यान्वयन गर्ने भए ओलीलाई राष्ट्रपति र प्रचण्डलाई पाँच वर्षकै लागि प्रधानमन्त्री बनाउनु पर्ने बताएका हुन् ।
‘देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलिलाई बनाऔं,’ स्थायित्व, सुशासन र समृद्धिको निम्ति कमरेड प्रचण्ड नेतृत्वको सरकारलाइ ५ बर्ष नै निरन्तरता दिउँ,’ उनले भनेका छन् ।
उनले उक्त शक्ति बाँडफाडले वामपन्थी सहकार्यलाई पनि दीर्घरुप दिने बताएका छन् ।
राष्ट्रपति निर्वाचन मिति नजिँदै गर्दा सत्ता गठबन्धनमा राष्ट्रपतिबारे सहमति जुट्न सकेको छैन । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर सत्ता गठबन्धनमा भने राष्ट्रपतिको विषयले असमझदारी बढ्ने क्रम जारी छ ।
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिको पक्षमा छ भने एमाले पूर्वसहमति अनुसार राष्ट्रपति पद आफूले नै पाउनु पर्ने अडानमा छ ।