पोखरा । कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना हङकङबाट माघे संक्रान्ति मनाउने गरी ३० गते आउँदै थिइन् । नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । छोरी र नातिनी भनेपछि ओममाया हुरुक्कै हुन्थिन् । ‘छोरा भने पनि यिनै हुन्, छोरी भने पनि यिनै हुन्,’ २ छोरी जन्माएपछि ओमकुमारीले यही भन्ने गरेकी थिइन् ।

छोरीहरु दुवै हङकङतिरै भएपछि ओममाया उनीहरु आउने बाटो हेरिरहन्थिन् । जेठी छोरीतर्फकी कान्छी नातिनी यास्मिन गुरुङले पोखरामै बसेर बीएससी पढिरहेकी थिइन् । उनै यास्मिनलाई लिएर ओममाया हङकङबाट आएकी पुजनलाई लिन शुक्रबार काठमाडौं गएकी थिइन् । हङकङबाट पुजन आएपछि शनिबार तीनै जना काठमाडौंमै बसे र आइतबार पोखरा नै आएर माघे संक्रान्ति मनाउने योजनाअनुसार यती एयरलाइन्सको टिकट काटे ।

बेलैमा पोखरा पुगेर माघे संक्रान्ति मनाउने योजनाअनुसारै उनीहरुले आफ्नो उडान अगाडि सारे । बिहान साढे १० बजे उनीहरु यती एयरलाइन्सको जहाज चढेर करिब ११ बजे पोखरा ओर्लंने परिवारका सदस्यले जानकारी पाएका थिए । बिदा मनाउन हङकङबाट आएकी पूजन र पोखराबाट सँगै गएका ओममाया र नातिनी यास्मिनको सँगै माघे संक्रान्ति मनाउने योजना अधुरै रह्यो ।

ओममायाका भाइ रुपक गुरुङले भने, ‘उहाँ र २ नातिनीहरुसँगै हिजो जहाजमा आउनुभएको थियो तर घरको आँगनसम्म आउन पाउनुभएन ।’ २ नातिनीको श,व पहिचान भइसकेको छ भने ओममायाको हुन सकेको छैन । ओममाया ६७ वर्षमा टेकेकी थिइन् भने नातिनी यास्मिन २५ र पुजन २० वर्षकी रहेको रुपकले बताए । (स्रोत: अनलाईन खबरबाट)

साथै पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *